|

लहान : सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चोहर्वामा बिहीबार भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चार जना घाइते भएका छन्। 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ च ९१४१ नम्बरको जिपले सोही दिशातर्फ आउँदै गरेको ज१०प ६८०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय लालु कामतीको मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते कामतीलाई उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक कामती सिरहाको अर्नामा गाउँपालिका १ महनौरका बासिन्दा हुन्। उक्त दुर्घटनामा घाइते भएकामध्ये नाम नखुलेका एक जनाको चोहर्वास्थित सगरमाथा अस्पताल उपचार भइरहेको छ भने २१ वर्षीय रामबाबु कामतीलाई थप उपचारको लागि धरान पठाइएको छ। जिप र चालकलाई प्रहारीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, चोहर्वामै बिहीबार नै दुई सवारी आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका ४ का करिब ४५ वर्षीय शिवलाल मण्डल रहेको इलका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा८०प ७३०९ र विपरीत दिशातर्फ जाँदै गरेको ज३प ४५८८ नम्बरको मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका ४५८८ नम्बरको मोटरसाइकल चालक मण्डल गम्भीर घाइते भएपछि उपचारका लागि लहान ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

उक्त मोटरसाइकल पछाडि बसेका मिर्चैया १० का करिब ६० वर्षीय घाइते सुकदेव मण्डलको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
प्रहरीका अनुसार ७३०९ नम्बरको मोटरसाइकलमा रहेका उदयपुरको त्रियुगा नगरपालिका १२ का २२ वर्षीय सुशान्त दनुवारको टाउको र आँखामा चोट लागेको छ भने दुई मोटरसाइकल आपसमा ठोकिँदा पैदल यात्रु गोलबजार ७ की करिब ६७ वर्षीय हरिमाया परियार समान्य घाइते भएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.