अर्थ

सस्तो पाइने भ्रममा भारतीय बजार नेपाली उपभोक्ता
SHARES

कात्तिक १, २०७५
    • मोहन पौडेल

    नवलपरासी : दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन।

    दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरू यतिबेला निराश भएका छन्। उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरू चिन्तित भएका छन्।

    पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ तर नेपालको महेशपुर बजार भने सुनसान छ। त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ। भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याई नभ्याई छ। खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडालगायत सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन्।

    नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताए। कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताए।

    भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्नसमेत समस्या परेको छ। बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैँको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिन्छन्। न्यौपानेले दशैँलाई लक्षित गरी नियमितभन्दा रु तीनदेखि चार लाख रुपैयाँको सामान पसलमा थप गरे तर व्यापार प्रायः शून्य भएपछि साहुलाई कसरी तिर्ने भन्ने चिन्ता उनलाई परेको छ। नेपाली उपभोक्ताहरू कपडा खरिदका लागि भारतीय बजार जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको सङ्ख्या घटेको र व्यापार पनि नभएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले बताए।

    न्यौपाने मात्र होइन बर्दघाटमा किराना पसल सञ्चालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पनि पीडा उस्तै छ। अहिले उपभोक्ताहरू चिनी, चियापत्ती, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरूको व्यापारमा कमी आएको उन बताए।

    सामान किन्न भारतीय बजार पुगेका सुनवलका टङ्कनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामान चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकाले आफू ठुठीबारी आएको बताए। आचार्यले सामानको गुणस्तरका बारेमा आफूलाई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधैँ भारतीय बजार आउने गरेको बताए। भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुरसम्मका उपभोक्तासमेत किनमेलका लागि जाने गर्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]