|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँले सामाजिक एकता, आपसी सद्‍भाव र आत्मीय भातृत्व अभिवृद्धिमा ठूलो मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

बडादशैँ २०७५ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना प्रदान गर्दै राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रूपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा जुट्न प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु।’

राष्ट्रपति भण्डारीले चाडपर्वहरू मुलुकका लागि धरोहर र सम्पदा भएकाले यिनको संरक्षण तथा सम्बर्धन गर्नुपर्ने पनि बताएकी छन्। ‘हाम्रो समाजमा अनादिकाल देखि हर्षोल्लास पूर्वक परम्परागत मनाउने गरिएका विभिन्‍न चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सृदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्‍न महत्वपूर्ण योगदान गरिरहेका छन्,’ राष्ट्रपतिले भनेकी छन्, ‘हाम्रो धरोहरका रूपमा रहेका चाडपर्वहरू बहुमूल्य साँस्कृतिक सम्पदासमेत हुन् र यिनको संरक्षण एवं सम्बर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएको छु।’

राष्ट्रपतिले बडादशैँले सबै नेपालीमा नयाँ उत्साह एवं उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्‍नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.