|

सुनसरी : धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सूर्य कत्था उद्योगमा बिहीबार राति आगलागी भएको छ। उद्योगको गोदाममा आगलागी हुँदा निर्यात गर्न तयारी अवस्थाको राखिएको कत्था र कच जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यलय धरानका अनुसार आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। क्षतिको विवरण संकलन भइनसकेको प्रहरीको भनाइ छ। उद्योग सञ्चालक रोशन सोनीका अनुसार कम्तीमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

सो उद्योगमा खयरको काठलाई प्रशोधन गरेर कत्था उत्पादन गरिन्छ। प्रहरीका अनुसार तयारी अवस्थाको कत्था दुई हजार ५०० कार्टुन र तीन हजार पेटी कच जलेर नष्ट भएको छ। आगो धरान, इटहरी र सुन्दर हरैंचाको पाँच वटा दमकल र जनपद, सशस्त्र र नेपाली सेनाको सहयोगमा नियन्त्रणमा आएको थियो।

करिब दुई घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा आएकाले थप क्षति हुन नपाएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमन तिम्सिनाले बताए। कत्था उद्योग नजिकै पेट्रोल पम्प पनि भएकाले आगो नियन्त्रणमा नआएको भए ठूलो क्षति हुनसक्ने प्रहरीको भनाइ छ। डिएसपी तिम्सिनाका अनुसार आगलागी विद्युत सर्टबाट भएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.