|

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडादशैँको शुभकामना दिँदै विकास र समृद्धिका लागि सबैलाई एक हुन आह्वान गरेका छन्।नेपालीहरूलाई लामो समयदेखि एकताको सुत्रमा बाँध्न दशैँ, तिहार, छठ जस्ता पर्वले विकासमा लागि पनि एक बनाउन सहयोग गर्ने सभापति देउवाको विश्वास छ। देशमा संविधान कार्यान्वयन भइसकेकाले अबको प्रमुख लक्ष्य देश विकासमा भएको भन्दै यसतर्फ अग्रसर हुन उनको आग्रह छ।

विजया दशमीले नेपाली बीचको एकतालाई अझ मजबुत बनाएको बताउँदै योपटकको दशैँले नेपालमा विकासका लागि सबैलाई एकजुट बनाउँने उनको विश्वास छ।मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकाय तथा जनता आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्नु पर्ने आवश्यक रहेको देउवको भनाइ छ।

‘नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरूप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधान बमोजिम नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरू सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको छ र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको छ।

यो ऐतिहासिक उपलब्धीपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको छ’, शुभकामना सन्देशमा भनिएको छ।

असत्यमाथि सत्यको विजय भएको दिनको स्मरणामा बनाइने बडादशैँले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भाव झल्काएको सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ। नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएकाले एकअर्काको मौलिक भेषभूषा सहितका यिनै विविधता राष्ट्रिय पहिचान बनेका उनको तर्क छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.