|

नवलपरासी : दशैंका बेला खेलिने परम्परागत लिङ्गे तथा काठका रोटे पिङ शहरबाट मात्रै होइन गाउँघरबाट समेत हराउन थालेका छन्। केही वर्ष अघिसम्म दशैं आउँदा गाउँघरमा देख्न पाइने लिङ्गे र काठका रोटे पिङ पछिल्लो समय देखिन छाडेका छन्। पिङमा मच्चिँदै खेल्ने पुरानो चलन ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ। 

दशैंका बेला एक पटक भुइँ छाड्नुपर्छ भन्ने मान्यता थियो। त्यसैले दशैं नजिकिँदै जाँदा गाउँघरका युवाहरु जम्मा भई बाबियो काटेर ल्याउने, लठ्ठा बाट्ने र लिङ्गे पिङ राख्ने प्रचलन थियो। नवलपरासीमा यस वर्ष गत विगतका वर्षहरुमा जस्तो पिङ देखिएको छैन। कतिपय ठाउँमा पिङ राखिए पनि बाबियोको डोरीको प्रयोग नभई बजारमा पाइने लट्ठा किनेर बनाइएको छ। 

पिङका लागि आवश्यक लट्ठाका लागि गाउँका सबै एक ठाउँमा भेला भएर बाबियो काट्न समूहमा जाने र खाजाका लागि गाउँबाट रकम उठाएर दिने चलन थियो। युवायुवतीहरु भेला भएर लिङ्गेपिङ र रोटे पिङ राख्ने गरिन्थो। तर, पछिल्लो समय यस्ता परम्परा हराउँदै गएकामा अग्रज पुस्ता चिन्तित छन्। नवलपरासी बर्दघाटकी ९४ वर्षीया खेमकला भण्डारीले पहिले दशैंमा रोटेपिङ र लिङ्गेपिङ राखेर सबैजना समूह बनाएर रमाइलो गरेको स्मरण गरिन्। तर, अहिले युवा पुस्ता विदेशिएकाले चाडबाडको रौनक हराउन थालेको भण्डारीको भनाइ छ।

पछिल्लो समय भित्रिएको नयाँ प्रविधिले परम्परागत पिङ हराउँदै गएको ज्येष्ठ नागरिकहरुको बुझाइ छ। प्रविधिले दशैंमा रमाउने शैली पनि फेरिदिएको छ। पिङ राख्नका लागि बावियो काट्नेदेखि पिङ राख्न सबै काम समूहमा हुने भए पनि नयाँ पुस्तामा भने मनोरञ्नको तरिकामा फरक भएको छ। सबैको हातहातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले सामाजिक सञ्जालमा रमाइरहेका हुन्छन्। चाडबाडको समयमा परिवारका सदस्यसहित वा साथीसँग नयाँ ठाउँ घुम्नजाने प्रचलन समेत बढ्दै गइरहेकाले चाडबाड मनाउने तरिका र मौलिक परम्परामामा असर परेको ५४ वर्षीया देवीसरा उपाध्यायको बुझाइ छ।  

एकता र भाइचाराको पर्व दशैंमा पिङ खेल्ने परम्परा पनि समाजिक एकता र भातृत्वसँग जोडिएको छ। दशैं तिहारमा मात्र खेलिने पिङ अहिले शहर बजारमा लाग्ने मेला तथा महोत्वमा राखिन थालेको छ। परम्परागत पिङको सट्टा आधुनिक र बिजुलीबाट चल्ने पिङ भित्रिएका छन्। संस्कृतिका रुपमा रहेको पिङ व्यवासायीकरण भएसँगै परम्परागत बाँसको लिङ्गे र काठका रोटे पिङ लोप हुने अवस्थामा पुगेको दिव्य ज्योति बहुमुखी क्याम्पसका उप–प्राध्यापक कृष्णबन्धु पौडेलले बताए। दशैंमा खेलिने पिङको विशेषता, यसको सामाजिक तथा सांस्कृतिक महत्त्वबारे नयाँ पुस्तामा जानकारी नहुनु र परम्परालाई पुस्तान्तरण गर्न नसक्दा यो अवस्था देखिएको उनको बुझाइ छ। 

दशैंमा खेलिने लिङ्गे पिङ, चर्खे पिङलगायत पिङबारे अध्ययन अनुसन्धान गर्ने, व्यवसायीकरण हुनबाट रोक्न र संगठित तरिकाले लागेरै भए पनि पिङको मौलिकता बचाउनु पर्ने पौडेलको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.