|
फाइल फोटो

नेपाल क्रिकेट संघ (क्यान) तीन वर्षयता अन्तर्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)को प्रतिबन्धमा छ। तर, नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा नियमितता जारी छ। प्रदर्शन पनि राम्रो रहँदै आएको छ। नेपालको घरेलु क्रिकेटमा नेपाली टिम राष्ट्रिय फ्रेन्चाइजहरूको साथले उत्साही छ।

केहि वर्षअघिसम्म नेपाल खेलाडी क्यानले गर्ने केहि सीमित प्रतियोगिता र निजीक्षेत्रको आयोजनामा हुने सामान्य प्रतियोगितामा मात्रै सहभागी हुन्थे। अहिले नेपालमा क्रिकेटको छोटो संस्करण टि–२० प्रतियोगिताहरू व्यापक बन्न लागेका छन्। गत वर्ष एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल)ले पुरस्कार राशिमा मात्रै उल्लेख्य बढोत्तरी गरेन कि प्रतियोगितालाई भव्य बनाउन पनि लाखौँ खर्च गरे। 

विभिन्न कम्पनीमा लगानी गर्ने ठूला घरनाहरूलाई क्रिकेट टिमको मालिकका रूपमा घोषणा गर्दै ठूलो मूल्यमा खेलाडी अनुबन्धनसँगै अन्तर्राष्ट्रिय अभ्यासका रूपमा रहेको अक्सन देखि मार्की खेलाडी तथा चियर लिडरसम्मको आकर्षणको प्रयास भए। टि–२० संस्करणमा भएका नियमित र सुधारात्मक प्रयाससँगै खेलाडीको मूल्य र प्रतियोगिताको चार्म उत्कर्षमा रह्यो। यो पटक थप अर्को प्रतियोगिताका रूपमा पोखरा प्रिमिरयर लिग (पीपीएल)को तयारी अन्तिम चरणमा छ।

पर्यटकीय नगरी पोखरामा हुने प्रतियोगितामा टिम मालिक तथा खेलाडीको अक्सन समेत भइसकेको छ भने प्रतियोगिताको पुरस्कार राशि पनि ठुलो रहेको छ। निजी क्षेत्रको क्रिकेटप्रतिको रुचीलाई संस्थागत गर्ने प्रयासँगै भइरको यो छोटो संस्करणको विकासले खेलाडीमात्र होइन समग्र क्रिकेटको विकास भइरहेको मान्छन् नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा। टमाटा भन्छन्, ‘खेलाडीहरूले राम्रो मूल्यमा अनुबन्धनसँगै नियमित रूपमा प्रतियोगिता खेल्न पाउनू खेलाडीको मात्र नभएर क्रिकेट विकासकै लागि महत्वपूर्ण हो।’

प्रशिक्षक टमाटा नेपाली क्रिकेटको सफलताका पछाडि क्रिकेट प्रति बढ्दो आकर्षण र यसमा भइरहेको लगानीमा वृद्धिले खेलाडी उत्साहित हुनु रहेको बताउँछन्। नेपाली राष्ट्रिय टिम अहिले टि–२० विश्वकप छनोटको अभियानमा रहेकाले पीपीएल त्यसका लागि थप प्रभावकारी हुनेछ। अन्य क्षेत्रका खेलकर्मीहरू राष्ट्रिय प्रतियोगिता नै कुरेर बस्नु पर्ने अवस्था विद्यमान रहँदा क्रिकेटका खेलाडी भने राम्रो मूल्यमा नियमित प्रतियोगितामा संलग्न भइरहन पाएका छन्। जुन अाफैँमा एउटा ठूलाे अवसर हाे।

कप्तान पारस खड्का नेपाली क्रिकेट विकासमा निजी क्षेत्रबाट भएका प्रयास सराहनीय रहेको मान्छन्। उनी भन्छन्, ‘हाम्रा लागि राज्यले यो सबै गर्नु पर्ने हो तर निजी क्षेत्रले जुन साहस र आँट देखाएको छ यो क्रिकेट विकासका लागि उल्लेख्य हो।’ कप्तान खड्का नेपाली क्रिकेट विकासमा भइरहेका पछिल्ला प्रयास लोभलाग्दा रहेको मान्छन। उनी थप्छन्, ‘कुनैपनि क्रिकेटरले राम्रो मूल्यमा अनुबन्धन भएर क्रिकेट खेल्ने वातावरण सिर्जना हुनु आफैँमा ठूलो अवसर हो।’

छोटो संस्करणमा बढ्दो क्रेज र आकर्षणसँगै अब नेपाली क्रिकेट खेलाडी धेरैमात्रामा व्यस्त हुनेछन्। विजेतालाई हरेक जसो प्रतियोगिताले २५ लाख रुपैयाँ भन्दा बढी पुरस्कार दिइरहँदा निजी क्षेत्रका ठूला घरनाहरूलाई क्रिकेट प्रति बढ्दो चाखले लगानीसँगै आकर्षण र क्रिकेटप्रतिको रहरलाई थप उत्साही बनाएको छ। कप्तान खड्का भन्छन, ‘क्रिकेटका ठूला प्रतियोगिताले हामीलाई मात्र होइन आगामी पुस्तामा पनि खेलेर नै केहि गर्न सकिन्छ भन्ने आत्माविश्वास बढ्नेछ।’

समग्रमा वर्षमा तीन वटा ठूला टि–२० प्रतियोगिताले खेलाडीलाई आफ्नो प्रतिभा देखाउने राम्रो मञ्च प्रदान गर्नेछ साथमा यो छोटो संस्करणको अन्तर्राष्ट्रिय लोकप्रियतालाई नेपालमा पनि व्यवसायिक बनाउँदै गर्दा स्वभाविक रूपमा एकदिवसीय मान्यता प्राप्त नेपाली क्रिकेटलाई यसले आफ्नो विरासत कायम राख्न योगदान दिने कुरामा राष्ट्रिय टिमका प्रशिक्षक टमाटा र कप्तान खड्का दुवै आशावादी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.