‘घाउ नकोट्याएकै जाति’

|

दमक (झापा) : वरिपरिका वस्तीमा दशैँले छपक्कै छोपेको छ। रमाइलो गरेर दशैँ मनाउँदैछन्। विदेशिएका परिवार पनि आउँदैछन्। नजिकैको वस्तीमा दशैँको रमझम छ। तर झापा र मोरङका दुई वस्ती सुनसान छन्। 

दशैँ नमनाएर होइन, मनाउने ल्याकत नभएर हो। अढाई दशकदेखि झापाको दमक र मोरङको पथरी शनिश्चरेमा शरणागत जीवन बिताइरहेका भुटानी शरणार्थीको उकुशमुकुश अरू बेला पनि छ नै, तर दशैंका बेला जतिनै छोपे पनि कुण्ठा पोखिन्छ। कोही बोलेरै पोख्न, कोही बोल्न नसकेर आँशुबाट बगाउँछन्। 

आफन्तको अभाव

पुनर्वास सुरु हुनुअघि शरणार्थीको दशैँ पनि रमाइलै हुन्थयो। अर्काले दिएको सहयोगमा भए पनि आफन्तसँगै हुन्थे। अभावैमा भए पनि आफन्तसँग दशैँ मनाउन पाएका थिए। 

तेस्रो देश पुनस्र्थापनाका कारण अहिले कुनै परिवार सग्लो छैन। अधिकांशका केही आफन्त तेस्रो देश छन्, केही शिविरमा। कतिपय त शिविरमा एक्लै छन्, पीडा सुनाउनेसम्म कोही छैन। दमकस्थित भुटानी शरणार्थी शिविरका भीम गुरुङ् भन्छन्, ‘आफन्त र छोराछोरी पुर्नवासमार्फत तेस्रो मुलकु पुगेपछि मेरो मात्रै होइन, सबै शरणार्थीको दशँै खुसी होइन पीडा लिएर आउँछ।’

दशैं मनाउँन विभिन्न देश पुगेका कतिका आफन्तले खर्च पनि पठाउँछन्। केहीले त्यो पनि सक्दैनन्, गर्दैनन्। तर पैसाभन्दा पनि चाडपर्वका बेला आफन्तको साथ चाहिने गुरुङ्को भनाइ छ। शरणार्थी समस्या समाधानका लागि भन्दै तेस्रो देश पुनस्र्थापनाको क्रम चलेपछि अधिकांश परिवार छिन्नभिन्न भएका छन्। एकै परिवारका सदस्य विभिन्न देश पुगेका छन्, केही शिविरमा छन्, जसका कारण यसबेला आफ्न्तको यादले उनीहरूलाई झनै सताउने गरेको छ।

खानलाउनै अभाव

२०६४ कातिकदेखि तेस्रो देशमा पुनस्र्थापना गर्न थालियो। अमेरिका, क्यानाडा, अष्टे«लिया, न्युजिल्याण्ड, नर्वे, डेनमार्क र बेलायतमा एक लाखभन्दा बढि शरणार्थी पुगेपछि यो प्रकृया पनि रोकिएको छ। अब भने शिविरमा रहेका शरणार्थीहरूको भविष्य के हुने भन्ने अन्योल सृर्जना भएको छ। शिविरमा रहेकाहरूलाई संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायोग (युएनएचसिआर)ले  राहत पनि कटौटी गरेपछि शिविरमा एक्लिएकाहरू झनै पीडामा छन्।

जाने त गए तर बाँकी रहेकाहरू आफ्नो बिछोडिएको परिवारलाई सम्झँदै बस्नुको बिकल्प छैन। कतिले तेस्रो देश गए पनि कमाई गरेर केही खर्च  पठाइदिने गरेका छन् भने कोही तेस्रो देश पुगेपछि उतै गुमनाम हुने गरेका छन्। बेलडाँगीकी पूर्णिमायाँ राईलाई यस्तै भएको छ। तेस्रो मुलुक पुगेकाहरूसँग सम्पर्कसमेत हुन नसक्दा चाडपर्वका बेला झनै याद उर्लिने उनले बताइन्।

‘घाउ नकोट्याएकै जाति’

अरूभन्दा पनि वृद्धवृद्धाहरूलाई हरेक पर्वले थामिनै नसक्ने गरी विगतका यादले पिरोल्छन्। भुटानमा छँदा भएको आफ्नै खेतबारी, गोठ र आफन्तहरूको कुँडुलो। तर सबै श्रीसम्पत्ती छोडेर रित्तै ज्यान भागेर दुई दशगजा पार गरेर पितृभूमि नेपाल टेकेका उनीहरूलाई भुटानको दशैँ आँखाभरि नाच्दा ती दृश्य आशुँले बगाएर लैजाने गरेको छ।

‘उहिलेको कुरा गरेर के गर्नु, मनै मात्र बिग्रिन्छ’, शरणार्थी वृद्धा पूर्णावती तिम्सिना भन्छिन्, ‘पुरिएको घाउ जति कोट्यायो उति दुख्छ।’ चिउरा चामलका लागि रातभरि ढिकी चलाएको, जमरा राखेको, आफन्तकोमा हुलबाँधेर टीका थाप्न गएका याद शिविरको अढाई दशकको अभावले निचोरेको छ। झनै आफन्त टाढिएपछि दशैं पनि आउनुभन्दा नआउनु निको लाग्छ उनलाई।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.