|

पाँचथर : याङवरक गाउँपालिका–४ मा रहेको निशान मौलोमा निशानहरू नचाउँदै तत्कालीन शाह राजाहरूले दिएका भनिएका हातहतियारहरू वडा दशैँको नवमी तिथिमा प्रर्दशन गरिएको छ। लिम्बु समुदायका सुब्बाहरूले हातहतियारहरू प्रदर्शन गर्दै श्री कम्फु र श्री जंगे नामका निशानहरू नचाएपछि मार काटेका छन्।

कतिपय सुब्बाहरूले निशान नचाउने, हातहतियारहरू प्रदर्शन गर्ने र मार काट्ने परम्परालाई पहिचानको रुपमा पनि लिएका छन्। तत्कालीन राजा राजेन्द्र विक्रम शाहको शासनकालमा वि.स. १८८० मा तत्कालीन याङवरक थुमको थर्पुका सुब्बा मतवलसिं माबोलाई श्रीकम्फू निशान मालपोत तिरो बुझ्ने अधिकारसहित दिएको बताइन्छ।

श्रीजंगे निशान भने ओयामका सुब्बा बागदल सेलिङलाई वि.स. १९१२ सालमा राजा सुरेन्द्र विक्रम शाहको शासन कालमा दिएको सुब्बाहरू बताउँछन्। यससँगै पटक पटक गरी दुई राजाले दिएका भनिएका ताम्रपत्र, तरबार, खुँडा, खुकुरी, चमार बन्दुक, त्रिशुललगायतका सामग्रीहरू हरेक वर्षको दशैँको महानवमीमा प्रदर्शन गरिन्छ।

यसलाई सुब्बा अशोक खेबाङ पहिचानको रुपमा पनि लिन्छन्। ‘लिम्बु समुदायमा सुभाङ्गी प्रथाको सुरुवात शाह राजाहरूले निशान दिएसँगै भएको देखिन्छ,’ उनले भने, ‘यसलाई हामी सुब्बाहरू पहिचानको रुपमा लिन्छौँ।’ निशानहरूलाई सीमा रक्षकको रुपमा पनि सुब्बाहरूले लिने गरेका छन्। श्रीजंगे निशानलाई नचाउँदै सुब्बाहरूले भारतको सिक्कम राज्यको सीमासम्म पुर्‍याउने गरेका छन् भने श्रीकम्फू निशानलाई मौलो निशान क्षेत्रको मन्दिर सुरक्षार्थ राखिन्छ।

यसरी सुरक्षाको दृष्टिले पनि लिइँदै आएको दुवै निशानसहितका हातहतियारहरू बर्सेनि पालैपालो सुब्बाहरूले राख्ने गरेका छन्। राजाहरूले विभिन्न समयमा दिएका भनिएका यी निशानसहितका हातहतियारहरू भने तत्कालीन लिम्वुवानका राजाहरूले नै प्रयोग गरेको लिम्बुवान इतिहासका अध्ययेता कमल तिगेला दावी गर्छन्। ‘निशान गोर्खालीहरूले दिएका होइनन्। नगरा निशान, तोपसहितका हातहतियारहरू चाहिँ हामी लिम्बुसँगै थियो,’ उनले थपे, ‘हामी युद्धमा थियौँ, आ–आफ्नै गणहरू थिए र युद्धमा जाँदा गणहरूले निशा प्रमाणहरू लिएर जाने गरेको देखिन्छ।’ यद्यपि, उनी गोर्खा राजाहरूले लिम्बुवानका निशानसहितका हातहतियारहरूलाई वैधानिकता प्रदान गरेको बताउँछन्।

यसरी निशानसहितका हातहतियारहरू  दिएर तत्कालीन शाह राजाहरूले सुब्बाहरूलाई भूमि अधिकार रक्षा गर्न लगाएको कतिपय सुब्बाहरूको मत छ। भूमिसम्बन्धी स्वायत्तता पनि प्रदान गरेको उनीहरूको भनाइ छ। तर पूर्वका पाँचथर, धनकुटालगायतका जिल्लामा राजाहरूले दिएका भनिएका निशान नचाउने र हातहतियारहरू प्रदर्शन गर्ने परम्परा हट्दै गएको छ। 

किरात याक्थुङ चुम्लुङ पाँचथरका निवर्तमान अध्यक्ष बुद्धराज इङवाले सुभाङ्गी प्रथालाई दासत्वको साङ्लो भएको र निशान नचाउँदै हातहतियारहरू प्रदर्शन गर्ने कार्यले अझै पनि सो प्रथालाई वैधानिकता दिएको महसुस भएको बताए। ‘जरुर के हो भने यो प्रथाको पूर्णरुपमा अन्त्य गर्नुपर्छ, यो दासत्वको साङ्लो हो,’ उनले भने, ‘यसले गर्दा नगरा निशान नचाउँदै हातहतियार प्रदर्शन गर्ने र मार हान्ने चलन आवश्यकता छैन।’ सुब्बाहरूले संरक्षण गर्दै आएका निशानहरू निक्कै पुराना छन्।

श्रीकम्फू निशान १९५ वर्षे र श्रीजंगे निशान १६३ वर्षे छ। यी निशानहरू बर्सेनि दशैँको नवमी तिथिमा नचाउँदै हातहतियारहरू प्रदर्शन गर्नुलाई इतिहासको सम्झनाको रुपमा  रुपमा पनि कतिपय लिन्छन्। तर, लिम्बु समुदायका कतिपय अगुवाहरूले भने सुब्बाहरूले निरन्तरता दिँदै आएको यो परम्परालाई दास मानसिकताको पराकाष्टको रुपमा लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.