|
अंगरक्षकद्वारा मारिएका प्रहरी प्रमुख अब्दुल रजीक

अफगानिस्तानको कन्धार प्रान्तका प्रहरी प्रमुख जनरल अब्दुल रजीकको हत्या भएको छ। रजीकको उनका अंगरक्षकले गोली हानेर हत्या गरेका हुन्।

रजीकको हत्याको जिम्मेवारी भने आतंककारी समूह तालिबानले लिएको छ। उक्त घटना गभर्नर निवासको परिसरभित्र भएको थियो। रजीकलाई त्यतिबेला गोली हानिएको थियो जब उनी एक उच्चस्तरीय बैठकबाट फर्किइरहेका थिए। तालिबानले उक्त घटनाको निशानामा अमेरिकी कमान्डर जनरल स्कट मिलर पनि थिए। तर, मिलर भने हमलाबाट बँचेर सुरक्षित निस्किन सफल भए।

उक्त हमलामा खुफिया एजेन्सीका स्थानीय प्रमुख मारिएका थिए भने गभर्नर गम्भीर घाइते भएका छन्। गोलीबारीबाट तीन अमेरिकी अधिकारी पनि घाइते भएका छन्।

तालिबानले रजीकलाई एक बर्बर प्रहरी अधिकारी बताउँदै आएका थिए। त्यसै कारण उनी तालिबानको निशानामा थिए। हमलामा आक्रमणकारी पनि मारिएका बताइएको छ।

अफगानिस्तामा शनिबार संसदीय चुनाव हुन गइरहेको छ। यसै विषयमा छलफल गर्न उच्च स्तरीय बैठक भएको बताइएको छ।

अफगानिस्तानी सुरक्षा अधिकारीहरूका अनुसार रजीकलाई पछाडिबाट गोली प्रहार गरिएको थियो। गोली प्रहार भएको बेला गभर्नर, प्रहरी प्रमुख र अन्य अधिकारी तथा विदेशी अधिकारी पनि सँगै रहेको कन्धार प्रान्तीय परिषद्का प्रमुख जान खाकरेजवालले बताएका छन्।

बन्दुकधारीले दुई हाते बम पनि प्रहार गरेका थिए। जनरल मिलरलाई भने उनका अंगरक्षकले सुरक्षित राखेका थिए।

तालिबानले चुनावलाई लक्षित गरेर हमला गर्नसक्ने सूचना यसपहिले नै जारी गरेका थिए। तालिबानले चुनावमा भाग नलिन मतदातालाई धम्की दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.