|
प्रतीकात्मक फोटो

बैतडी : नेपालीहरुको महान् चाड मानिने बडादशैँको चहलपहल जताततै छाइरहेका बेला बैतडीका स्थानीय महिला भने हिउँदका लागि खर काट्ने काममा व्यस्त भएका छन्।

पछि गहुँ छर्नका लागि खेत तयार पार्ने बेला आउने भएकाले दशैँको महत्वभन्दा पनि उनीहरुले घाँस भित्र्याउने कामलाई निरन्तरता दिएका हुन्। स्थानीय महिलाले छिमेकीसँग पालोपैँचो गरी खर घाँस काट्ने गर्छन्।

हिउँदे मौसममा गाईभैँसीलाई खुवाउन घाँसको अभाव हुने भएकाले मकैबाली भित्र्याएर खर घाँस भित्र्याउनमा लागेको हरिना साउदको भनाइ छ। यो मौसममा धेरै कामको चटारो हुने भएकाले कामको सिलसिलामा भारत गएका धेरैजसो युवा पनि घर फर्कने गरेका छन्।

बैतडीका महिला दशैँको रमझममा रमाउनुभन्दा खर काट्नमै व्यस्त रहेका पाइन्छन्। मङ्सिर पहिलो सातातिर वनमा रहेको हरियो घाँसलाई काटेर खर बनाउने कार्य सम्पन्न गर्ने गरिन्छ।

खर काट्ने बेला कतिपय ठाउँमा भिर भएकाले महिलाले जोखिम मोलेरसमेत खर काट्ने गरेका छन्। हरियो घाँसको लोभमा उनीहरु भिरमा चढेर खर काट्ने भएकाले प्रत्येक वर्ष अप्रिय घटनासमेत हुने गरेका छन्।

स्थानीय उत्पादनको व्यापार बढ्यो

बैतडीका विभिन्न स्थानमा दशैँको अवसरमा लागेको मेलामा स्थानीय उत्पादनको व्यापार बढेको पाइएको छ।

स्थानीयस्तरमा उत्पादन हुने फलफूलमा ओखर, केरा, अम्बा, दारिमलगायतका फलफूलको व्यापार बढेको स्थानीय व्यापारीले बताएका छन् । यसका साथै निगालोबाट बनेका डोका, नाङ्लालगायतका सामग्रीको व्यापार बढेको व्यापारी दिनेश विष्टले बताए।

निँगलाशैनी मन्दिरको मेलामा बैतडी तथा दार्चुलाका स्थानीय बासिन्दाले स्थानीयस्तरमा उत्पादित सामानको बिक्री गर्ने गर्छन्। मेलाका अवसरमा स्थानीयस्तरमा उत्पादित सामग्रीको व्यापारले उनीहरुको आर्थिक अवस्थामा समेत परिवर्तन आउने विश्वास गरिएको छ। स्थानीय उत्पादनले यस्तै मेलाका बेला बजार पाउने गरेको किसानले बताएका छन्।

यस्तै पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीमा रहेको डिलाशैनी मन्दिरलगायत स्थानमा सञ्चालन भएका मेलामा पनि स्थानीय उत्पादनले बजार पाएको स्थानीय व्यापारीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.