समाज : सुरक्षा/अपराध

कैदीबन्दीले थापे प्रजिअको हातबाट दशैँको टीका, कैद मिनाहा नदिएको गुनासो
SHARES

कात्तिक ३, २०७५

    रामेछाप : मुलुककै पुरानो कारागार मध्येकै एक मानिने जिल्ला कारागार शाखा रामेछापमा रहेका कैदीबन्दीहरूले चाडपर्वको अवसर पारेर सरकारले कैदीबन्दीहरूलाई कैद मिनाहा गरी जेलमुक्त गराउने कार्य यस वर्ष नगरेकोमा गुनासो गरेको छन्। सरकारले चाडपर्व र विशेष समयमा कैद मिनाहा गरी जेलमुक्त गर्दै आएकोमा यो बडादशैँमा कैद मिनाहा नगर्दा आफूहरूमा निराशा छाएको कैदीबन्दीहरूले गुनासो गरेका हुन्।

    बडादशैँ २०७५ को अवसरमा शुक्रबार कारागार शाखामा रहेका कैदीहरूलाई टीका लगाइदिन कारागार पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासँग कैदीबन्दीले यस्तो गुनासो गरेका हुन्। कारागार स्थापना भएदेखि नै आन्तरिक व्यवस्थापनबाट मात्र दशैँको टीका लगाउने गरेकोमा कैदीबन्दीहरूले यसवर्ष भने पहिलो पटक प्रमुख जिल्ला अधिकारीबाट कारागार हाताभित्र नै टीका तथा जमरा लगाएका हुन्।

    विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका कैदीहरूलाई प्रमुख जिल्ला अधिकारीले कारागारमा नै आएर टीका लगाइदिँदा आफूहरूलाई खुशी लागेको चौकीदार रामकुमार प्याकुरेलले बताए। यसअघि कैदीहरू सामूहिक रूपमा भोज खाने र कारागारभित्रका व्यक्तिहरूबाट टीका लगाउँदै आएको भए पनि प्रमुख जिल्ला अधिकारी कारागारमा पुगेर कैदीहरूलाई टीका लगाइदिएको रामेछाप कारागार शाखाको इतिहासमै यो पहिलो पटक हो।

    प्रमुख जिल्ला अधिकारीको हातबाट विजया दशमीको टीका जमारा थाप्न पाउँदा सबै कैदीबन्दीहरूमा खुशी छाएको चौकीदार प्याकुरेलले भनाई छ। प्रजिअबाट टीका लगाउन पाएकोमा खुशी व्यक्त गर्दै सरकारले विशेष अवसर पारेर लामो समय कैद भुक्तान गरिसकेकाहरूलाई कैद मिनाह गर्ने प्रचलन यस वर्ष नगरेकोमा भने चौकीदार प्याकुरेलले दुःख व्यक्त गरे।

    प्रजिअको हातबाट दशैँको टीका लगाएका अर्का कैदीबन्दी देवकुमार मेहताले प्रजिअ नै आएर टीका लगाइदिनु सबै बन्दीहरूका लागि खुशीको कुरा भएको बताए। सरकारले कैद मिनाहा गर्ने परिपाटीलाई यस वर्ष रोकेकोमा भने उनले पनि दःख प्रकट गरेका छन्। साथै उनले कैद मिनाहा गर्ने कार्यको निरन्तरताका लागि पहल गरिदिन प्रजिअ शर्मासँग अनुरोधसमेत गरेका छन्।

    उनले भने, 'बडादशैँमा त सरकारले कैद मिनाहा गर्न सकेन तर गणतन्त्र दिवस या अन्य कुनै बेलामा पारेर भए पनि एक चरणको प्रक्रिया पार गरी सकेका कैदीबन्दीहरूलाई केही समयको कैद मिनाहा गरी रिह गर्ने व्यवस्था मिलाउँदा राम्रो हुन्छ।'

    विभिन्न अभियोगमा कानून बमोजिमको सजाय भुक्तान गर्न घरपरिवार छाडेर आएका कैदीहरूमा पनि सामाजिक परम्परालाई निरन्तरता दिने उद्देश्यले आफूले उनीहरूलाई टीका लगाइदिएर सम्मान प्रदान गरेको प्रजिअ शर्माले बताए।

    कैद मिनाहा सरकारको निर्देशनबमोजिम गर्नुपर्ने भएकाले त्यसका लागि आफूले सकेको पहल गर्ने पनि प्रजिअ शर्माले बन्दीहरूलाई आश्वासन दिएका छन्। कारागारमा रहेका २८६ कैदी बन्दीमध्ये करिब एक सय जनाले प्रजिअको हातबाट बडादशैँको टीका थापेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]