|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ बेल्डाँडीका समूहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुन थालेका छन्। 

सात समूहमा आवद्ध करिब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै  एकलाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन्। उनीहरूले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात १५ हजार ६४६ रकम कोषमा जम्मा गरेका छन्।

आम्दानीको बाँकी हुन आउने  एकलाख ४० हजार ८१९ बाँडेका छन्। घर खर्चका लागि पहिला श्रीमान् कै मुख ताक्नु पर्ने अवस्था थियो स्थानीय भोटनी चौधरीले भने, 'हाल जडीबुटी खेती गर्न थालेपछि घर खर्च आफैँ चलाउन थालेका छौँ।' घर खर्चका लागि जडीबुटीको रकमले धान्न थालेपछि श्रीमानलाई पकेट खर्चसमेत दिन थालेका छौँ।'  उनले भने, 'पहिला श्रीमानसँग खर्च माग्थ्यौँ। अब श्रीमानलाई कमाएर दिन थालेका छौँ।' 

जडीबुटी खेतीबाट गतिलो आम्दानी हुन थालेपछि श्रीमान् तथा घरपरिवारले समेत सहयोग गर्नथालेको रोहिना ओखेडाले बताए। मेन्था, क्यामामाइल र असारे प्रशोधन गरी तेल निकालेर बिक्री गरेर आएको आम्दानीले यहाँका महिलाले घर खर्चसँगै बालबालिकाको विद्यालयको खर्चसमेत धान्ने गरेका छन्। मेन्थाको प्रशोधित तेल दुई हजार २०० मा बिक्री हुने गरेको छ। थोरै जग्गामा मेन्था खेती गरेका महिलाले यस वर्ष धेरै जग्गामा खेती गर्ने सोच अघि सारेका छन्। 

अन्नबाली लगाउँदा जंगली जनावरले नोक्सानी पुर्‍याएर हैरान बनाउँदै आएको छ सुकनी चौधरीले भने, 'जडीबुटी खेतीलाई जनावरले समेत नोक्सान नगर्ने र चाहे भन्दा बढी आम्दानी हुने भएकाले पुरै जग्गामा जडीबुटी खेती गर्ने योजना बनाएका छौँ।' समूहमा आवद्ध १३ जना महिलाले क्यामाइल आठकिलो ७४० ग्राम उत्पादन गरेर चार लाख ६३ हजार १२० मा बिक्री गरेका छन्। जसमध्ये कोषमा  ४६ हजार ३१२ रकम जम्मा गरेका छन्। बाँकी आम्दानी पाँच लाख ८६ हजार ८०८ रकम बाँडेर लिएका छन्। क्यामामाइल प्रतिकिलो ५३ हजारका दरले बिक्री भएको छ। 

क्यामाइलबाट बढी आम्दानी हुनथालेपछि प्रगति महिला जडीबुटी प्रशोधन उद्योगको समूहमा आवद्ध महिलाले नर्सरीमा विरुवा उत्पादनसमेत गर्न थालेका छन्। नर्सरीमा उत्पादित विरुवा महिलाले अन्न फल्ने खेतमा रोप्ने भएका छन्। अन्नबाट छ महिनासमेत खान पुग्दैन सोनी चौधरीले भने, 'जडीबुटी खेती गरेपछि वर्षभरिका लागि घर खर्च चलाएर भविष्यका लागि केही रकम बचतसमेत गर्न सकिएको छ।' 

यसै गरी महिलाले नै संरक्षण गरेको प्रगति महिला सामुदायिक वनमा रहेको असारे प्रशोधन गरी महिलाले एक लाख ३२ हजार आम्दानी गरेका छन्। प्रशोधित असारेको तेल प्रतिकिलो चार हजारका दरले बिक्री भएको छ।निड्स नामक गैरसरकारी संस्थाले जडीबुटी खेती गर्ने महिलाले उत्पादन गरेको जडीबुटी प्रशोधन गर्नका लागि छ लाख खर्चेर प्रशोधन प्लान्ट स्थापना गरिदिएको छ।

प्लान्टसँगै जडीबुटी सुकाउनका लागि छहारी निर्माण गरेको छ। संस्थाकै पहलमा विपन्न महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि एक लाखको घुम्ती कोषसमेत स्थापना गरिएको छ। घुम्ती कोषबाट न्यून व्याजमा महिलाले रकम लगानी गरी किराना पसल, कुखुरा, बंगुर, भैँसी पालनसमेत गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.