|

धनगढी : नेपाली समाजमा अहिले पनि महिलाले घरको काम मात्र गर्न सक्छन् भन्ने भ्रम छ। उनीहरू चुलाचौकाबाहेका अन्य काम नै गर्न सक्दैनन् भन्ने सबैको भ्रमणलाई चिर्न सफल भएकी छन्, धनगढी उपमहानगरपालिक–२ की सोचमानी चौधरी। केही वर्षअघिसम्म सोचमानी चौधरीको कामप्रति औला उठाउँनेहरू अहिले उनको प्रशंसक बनेका छन्। 

सुदूरको ग्रामीण भेगमा जन्मिएकी सोचमानीले परिवारका सदस्यहरूलाई आफ्नै पौरखमा केही गर्छुभन्दा उनको कुरामा कसैले ध्यान दिएनन्। तर उनले मनमनै केही नयाँ काम गर्ने योजना बुनिरहेकी थिइन्। सुरुका समयमा उनले आफ्ना रहरलाई मनभित्रै गुम्साएर बस्न बाध्य भइन। तर विसं.२०६३ मा एउटा आँट गरिन् र लघु उद्यम कार्यक्रमबाट बेतबाँसको तालिम लिइन्।

‘महिलाले घरको काम गर्ने हो। बाहिरको काम गर्न त पुरुष भएर जन्मनु पर्छ। धेरैले यस्तै भने त्यसपछि मलाई झन् पुरुषले गर्ने काम गरेर देखाउँन मन लाग्यो’, उनले भनिन्। 

४५ दिनसम्म तालिम त गरिन् तर त्यसलाई व्यवहारमा उतारेर  व्यवसाय सञ्चालन गर्न भने सहज थिएन। आफ्नै जोडबलले तालिम गर्न पाएकी सोचमानीलाई व्यापार गर्ने आँट र साथ कसले दिन्थ्यो। सीप सिकेर पनि उनी व्यवासयिक ढंगले आउँन सकिनन्। ‘व्यवसाय गर्न त पैसा र साथ चाहिन्थ्यो दुवै मसँग थिएन’, उनले गुनासो पोखिन्, ‘श्रीमान् पनि मजदुरी गर्न अन्तै हुनुहुन्थ्यो। मेरो एक्लै आँटले व्यवासय गर्न सहज थिए। त्यसैले म गाउँमै खुम्चिएर बसेँ।’ करिब सात वर्ष गाउँमै फुर्सदको समयमा एक अर्काको लागि बेतबाँसको टेवल कुर्सी बनाउने गरिन्। 

सीपले श्रीमान्लाई फर्कायो

सोचमानीले श्रीमान् देवबहादुरलाई आफ्नो सीप र सपनाबारे सुनाइन्। देवबहादुर वर्षाैँदेखि काठमाडौंमा मजदुरी गर्थे। श्रीमतीको सीप र सपना सुनेर उनी खुसी त भए तर श्रीमतीकै भनाइमा लागेर काठमाडौं छोड्ने आँट गरेनन्। 

‘के हुने हो? कस्तो हुने हो? पाएको काम छोडेपछि त्यही पनि नपाइएला भन्ने डरले श्रीमतीको कुरामा खासै चासो दिइनँ’, उनले भने। श्रीमतीले बिन्ति बिसाउन भने छोडिनन्। परिवार, समाज र छिमेकिको सहयोगविना नै आत्मबल बढाएकी सोचमानी श्रीमालाई फर्काउनेमा विश्वस्त थिइन्। 

सोचमानीको जिद्धिका अगाडि देवबहादुरको केही चलेन।‍ अन्ततः उनी वर्षौंदेखिको काम छोडेर श्रीमतीको सीप र सपना पूरा गर्न आफ्नै गाउँ फर्कि आए। सोचमानीलाई योभन्दा ठूलो केही हुनै सक्दैन थियो। श्रीमान्को साथ पाइसकेपछि विस्तारै घरपरिवारको पनि पूर्ण साथ पाइन्। हिजो यस्तो काम नगर्न सुझाव दिनेहरूले अहिले हौसला र प्रेरणा दिन थालेका छन्। 

‘श्रीमान्को साथ पाएपछि त सबैको साथ पाइँदोरहेछ’, देवबहादुरतर्फ हेर्दै उनी मुस्कुराइन्। सोचमानीको हाँसोसँगै देवबहादुरको अनुहार पनि हँसिलो भयो। 

चार वर्षमै धनगढीमा घर–घडेरी 

वर्षाैँसम्म काठमाडौंमा १० हजारमा श्रम बेचेका देवबहादुर घर फर्किएपछि आफ्नै श्रीमतीसँग सीप सिके। ४५ दिनमा सिकेको कुरा श्रीमान्लाई सिकाउन सोचमानीलाई महिनौँ लाग्यो तर सिकाएरै छोडिन्।

अहिले श्रीमान् श्रीमती दुवै मिलेर बेतका सामग्रीहरू बनाउँछन्। उनीहरूले निमार्ण गरेका सामग्रीहरू जिल्लाभित्र र बाहिर पनि खपत भइरहेको छ। ‘पहिलापहिला हामी टाउकोमा राखेर बेच्न जान्थ्यौँ। अहिले पसलमै किन्न आउँछन्’, सोचमानीले सुनाइन्। 

‘सुरुमा बाँस काट्नै नसकिने। जेनतेन काटिहाले पनि यहाँसम्म ल्याउनै कठिन तर पनि मैले हरेस खाइन’, उनले सुनाइन्, ‘त्यसको केही समयपछि त झन् श्रीमान्को पनि साथ मिल्यो। संसार जितेको जस्तो भयो।’

दुवै जनाले बेतबाँसका सामग्री बेचेर धनगढीका १० धुर जग्गा खरिद गरेका छन्। दुई वर्ष पहिले नौ लाख रुपैयाँमा किनेको जग्गामा अहिले घर बनाउँदै छन्। ‘हामी पहिले भाडामा बस्थ्यौं। अहिले जग्गा किनेर घर बनाइरहेका छौँ सबै यहीँबाट आएको पैसा हो’, सोचमानीले भनिन्। 

‘मैले नयाँ मोटरसाइकल पनि किनेको छु’, पल्लो छेउबाट देवबहादुर कराए। ‘ए हो त यो सबै चार वर्षमा हामीले पाएको सफलता हो’, खुसी हुँदै सोचमानीले भनिन्।

 

घर–घरमा बेतका सामग्री पुर्‍याउने सपना

चौधरी दम्पतिको अब दुईवटा मात्रै सपना छन्। एउटा आफ्नो व्यापारलाई बढाउने र अर्काे घर–घरमा बेतका सामग्री भएको हेर्ने। पहिलो सपना आंसिक रूपमा पूरा भइरहेको छ। 

‘आफ्नो व्यापार बढाइरहेका छौँ, अब सबैका घरमा बेतबाट बनेका कुर्सी र टेवल भएको हेर्ने धोको छ’, सोचमानीले भनिन्। ‘बेतबाट बनेकोमा बस्दा ब्लडप्रेसर पनि सन्तुलित हुन्छ’, उनले भनिन्। अहिले दवै जना मिलेर बच्चा राख्ने झुला, कपडा राख्ने हेंगर, चुरा राख्ने हेङ्गर,  कुर्सी, टेवल, र्‍याक, टोकरी बनाइरहेका छन्।  कपडा राख्ने हेङ्गकरको एक हजार ५००, बच्चा राख्ने झुलाको दुई हजार ६००, टोकरीको ३५०, चुरी स्टेनको २५०, कुर्चिको दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा बिक्री भइरहेको उनीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.