|

  • काशीराम शर्मा -

बाँके : तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य दलबहादुर सुनार वि.सं २०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बने। दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाइ राज्यमन्त्री बनेका सुनार त्यसपछि शिक्षा सेवामा लागे। सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका-५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहे। 

‘पद होइन, समाजसेवा सम्झिएँ,’ उनले भने,‘समाजसेवामा रम्न मन लाग्यो। मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएँ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उनको अठोट छ। उनले भने, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष! तपाईंको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरू आइरहे। तर मैले यसलाई स्वाभाविक रुपमै लिए। मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना विद्यालय बनाउन चाहन्छु।’ 

उनले २० वर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हाले। सो समयमा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन सुरु गर्न उनी सफल भए। ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उनले भने, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो। त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु।’ उनी अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ। विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ। आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ। ‘निजी होइन। सरकारी विद्यालयमा छोराछोरी पढाउँनुपर्छ। हामीसँग तालिम प्राप्त शिक्षकहरू हुनुहुन्छ। अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने?’ उनले भने, ‘पर्याप्त भौतिक पूर्वाधारहरू हुँदाहुँदै पनि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्। अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ।’ 

आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ। उनले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताए। ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ। हामी योजना बनाउँदैनौं। यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्’, उनले भने, ‘योजना बनाउँदा स्रोत जुट्छ। हामी योजना निर्माणसँगै स्रोत खोजी गरिरहेका छौँ।’ 

'नयाँ शैक्षिक सत्रदेखि विद्युतीय हाजिरीको सुरुवात हुँदैछ' उनले भने, ‘शिक्षकले विद्यालयमा आउँदा-जाँदा हाजिरी गर्नुपर्नेछ. समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं।’ अध्यक्ष सुनारले विद्यालयमा चाहिने सबै आवश्यकताहरू हामी पूरा गर्छौ, तपाईँहरू आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिन अभिभावकसँग आग्रह गरे। जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन्। विद्यालयको पढाई कस्तो भइरहेको छ। उनले आफै कक्षामा निरीक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्छन्। पढाई भए/नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिन्छन्। 

बस किन्न रकम संकलन गरिँदै 

तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ। बस खरिद गर्नका लागि विद्यालयलाई अभिभावकसँग आर्थिक सहयोग गरिरहेका छन्। हालसम्म.२८ लाख ८७ हजार संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिए। सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उनले बताए। 

२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले दश जोड दुई सञ्चालन गरिरहेको छ। विद्यालयमा विद्यार्थीको चाप बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक सुविधा पनि दिदै जाने योजना छ। यो शैक्षिक सत्रबाट विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.