|
तस्विर : रासस

  • कृष्णराज गौतम 

काठमाडौं : उपत्यकाको पुरानो व्यापारिक केन्द्र असन क्षेत्रका तुलाधर समुदायले खड्ग जात्रा गरी शनिबार दशैँ मनाएको छ। सधैँजसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासी एकादशीका दिन आफन्त, नातागोता बोलाइ अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्छन्। 

काठमाडौं महानगरपालिका–२७ मा पर्ने असनस्थित तुलाधर समुदायको कुल देवताको घरबाट निकालिने जात्रामा सहभागीले अन्नपूर्ण मन्दिर परिक्रमा गरेपछि त्यही घरमा गएर कुभिण्डो काटी आसुरी शक्तिको नाश गरेका थिए। 

तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ। कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुभिण्डोमा अढाइ वर्षका बालक सायन तुलाधरले मार हानेपछि अासुरी शक्तिमाथि विजयी प्राप्त गरिएको घोषणा गरिएको थियो। 

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दू र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रूपमा मिश्रण गरिएको छ। बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधि विधानपूर्वक जमरा रोपेर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरेका थिए। दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएको विश्वास गरिएको जात्राका संरक्षक प्राज्ञारत्न तुलाधरले जानकारी दिए। 

काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा खड्ग जात्रा पर्व मनाउने परम्परा छ। खड्ग जात्रामा विभिन्न शक्तिपीठमा तन्त्र साधना गरी खड्गधारण गरिएको हुन्छ। युद्धपछि चक्रवर्ती सम्राट बनेका अशोक खुशी र शान्त हुन नसकेपछि हतियार छाडेर बौद्धमार्गी बनेको सन्देश नयाँ पुस्तालाई दिनका लागि जात्राको परम्परा शुरु गरिएको भाषा विज्ञानका प्राध्यापक एवं संस्कृतिविज्ञ निर्मल तुलाधरले बताए। 

शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट जात्रा चलाइन्छ। हिन्दू परम्पराका देवीलाई बौद्ध अनुयायीले शक्ति सञ्चयको केन्द्र मान्ने र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा सम्मान गर्ने हुँदा जात्राले दुवै धर्मावलम्बीलाई सांस्कृतिक एकता गरेको व्यवसायी ज्ञानेन्द्ररत्न तुलाधरले विचार व्यक्त गर्नुभयो। 

यसैबीच काठमाडौँको उत्तरी भेग टोखामा पनि शनिबार नै खड्ग जात्रा गरिएको छ। जीवित देवी कुमारी र गणेशलाई सहभागी गराई स्थानीय तलेजु मन्दिरबाट जात्रा निकालिन्छ। दशमीमा काठमाडौंमा टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलबाराही, यट्खाबाट कंकेश्वरी, महाबौद्घ, किलागल र तलेजु भवानी लगायतका पीठबाट खड्गजात्रा निकालिएको थियो। 

भक्तपुरमा पनि  शुक्रबार राति खड्गजात्रा सम्पन्न भएको छ भने गत बिहीबार ललितपुरमा पनि यस्तै जात्रा सम्पन्न गरिएको छ। जुन जात्रा करीब दुई दशकपछि गरिएको थियो। कीर्तिपुरमा पनि महिलाले खड्ग जात्रा निकाल्ने परम्परा छ। देशका विभिन्न स्थानमा गरिने जात्राको महत्त्व र विशेषता भने फरक फरक रहेको पाइन्छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.