|

बाँके : बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालनमा आएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई उपचार सेवा र सुविधा दिइरहेको छ।

भरतपुर क्यान्सर अस्पतालपछि सुविधा सम्पन्न अस्पतालका रुपमा स्थापना भएको अस्पतालले आफ्नो सेवा सुरु गरेसँगै पश्चिम नेपालका क्यान्सरका बिरामीहरुलाई चितवन र काठमाडौँ पुग्नुपर्ने बाध्यता हटेको छ।अस्पतालमा साविकका मध्य तथा सुदूरपश्चिमका जिल्लाका बिरामीहरुको चाप बढेको छ।  काठमाडौँमा ठूला अस्पताल सरहको प्रविधी र जनशक्तिसहित सञ्चालनमा आएको छ। पायक पर्ने ठाउँमा अस्पताल सञ्चालनमा आएपछि बिरामीहरुलाई सहज भएको छ। बैजनाथ गाउँपालिका–४,की रोइनीदेवी वली भने 'क्यान्सरको शङ्का लागेपछि म भरतपुर अस्पतालमा पुगेर अप्रेशन गरेँ, यहाँ अस्पताल सञ्चालनमा आएपछि बाँकी उपचार यतै गरिरहेकी छु'।

श्रीमतीको स्तनमा समस्या देखिएपछि क्यान्सर हुनसक्ने आसङ्कामा अस्पताल पुग्नुभएका कोहलपुर नगरपालिका–२ का धर्मराज श्रेष्ठले नजिकै अस्पताल हुँदा उपचारमा सहज भएको बताए। उनले भने 'चितवन,काठमाडौँ जाँदा धेरै खर्च लाग्ने भएकाले हामीलाई यहाँ अस्पताल सञ्चालन हुँदा निकै सहज भएको छ । खर्च जोगिएको छ । घरबाटै अस्पतालसम्म आउन जान सहज भएको छ।'

अस्पताललाई पूर्णरुपमा सञ्चालनमा ल्याउन ८५ करोड अनुमान गरिएकामा हाल ४० करोडको लागतमा पूर्वाधार बनिसकेका छन्। गत असार ११ गतेदेखि अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको क्यान्सर अस्पतालमा साबिकका मध्य तथा सुदूरपश्चिमका २२ जिल्लाका बिरामीहरू आउने गर्छन्। अस्पतालबाट हालसम्म एक हजारभन्दा बढीले सेवा लिइसकेको अस्पतालले जनाएको छ। अहिले पनि दैनिक ३० देखि ४० जनासम्म बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका कार्यकारी निर्देशक डा विश्वराम पौडेलले बताए।

अस्पतालले अहिले ओपिडीका साथै सिटी स्क्यान, रेडियोलोजी, किमोथेरापी, फार्मेसी, प्याथोलोजी लगायतका सेवा सञ्चालन गरिसकेको छ । बिरामीको चापअनुसार चाँडै अत्याधुनिक शल्यक्रिया वार्ड रेडियशन र डाइगोनोसिस सेवा विस्तारसँगै विशेषज्ञ चिकित्सक ल्याउने तयारी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.