|
निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्ट

काठमाडौं : कञ्चनपुर भीमदत्तनगरपालिका–२ की १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा लापरबाही गरेको आरोपमा कञ्चनपुरका तत्कालीन एसपीसहित २ जनालाई प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयलाई बर्खास्तीको सिफारिस गरेको छ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए।

अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन निलम्बित इन्सपेक्टर जगदीश भट्ट लगायतका प्रहरीको कामकारबाहीबारे अनुसन्धान गर्न एआईजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरेको थियो। उक्त समितिको सिफारिसको आधारमा विष्ट र भट्टलाई बर्खास्तको सिफारिस गरेको हो।

उक्त सिफारिसलाई गृहसचिवस्तरीय बैठकले कार्यान्वयन गर्नेबारे निर्णय लिनेछ।

प्रवक्ता क्षेत्रीले उक्त सिफारिसबारे गृहमन्त्रालयले तत्कालै निर्णय गर्नसक्ने जानकारी आफूलाई आएको बताए।

निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव ११ गते उखुबारीमा भेटिएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानमा हेलचेक्र्याइँ गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। जसमा १३ वर्षीय बालक सनी खुनाको प्रहरी गोली लागेर मृत्यु भएको थियो।

निर्मला बलात्कार र हत्याका अभियुक्त अझैसम्म पनि पत्ता लाग्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.