नक्कली नोटको निसानामा होटल, रेष्टुरा लगायत रात्रिकालीन व्यवसाय

|

काठमाडौं : कात्तिक २ गते बडादशैँको  टीकाको दिन थियो। मान्छेहरू मान्यजनबाट टीका थाप्नमा व्यस्त थिए। काठमाडौं सुनसान थियो। 

सुनसान काठमाडौंको ठीक विपरीत पशुपति नजिकैको गौशालास्थित चाँदनी डान्सबारमा भने चहलपहल थियो। अर्को शब्दमा भन्दा, चाँदनी डान्सबारलाई दशैँले छोएन। डान्सबारका नर्तकी सदाझैँ अर्धनग्न अवस्थामा ज्यान हल्लाएर नाचिरहेका थिए। 

पाहुनाको उपस्थिति अरू दिनको भन्दा कमी थिएन। राति करिब ९ बजे दुई युवा चाँदनी डान्सबार छिरे। डान्सबारको स्टेज अगाडिका सोफामा बसे। वियर र ह्विस्की मगाए। बियरको चुस्की लगाए। वियर र ह्विस्कीको नसा लाग्दै गएपछि युवतीलाई बोलाए। आफू बसेकै सोफा छेउमै उनीहरूलाई राखे। युवतीहरूलाई पनि ह्विस्की पिलाए। सबै रोमान्सको मुडमा थिए। समय रातको १२ भइसकेको थियो। 

ती युवाहरूको छेउमा युवती मात्रै थिएनन्। सादा पोसाकमा प्रहरी पनि थिए। 'प्रहरीले उनीहरूको गतिविधिलाई नियालिरहेको थियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले भने,'ती दुई युवाहरू मकवानपुर हर्नामाडीका सहिल थापामगर र काठमाडौं कागेश्वरी मनहरा १९ का विकाश दोचे थिए।'

राति साढे १२ बजेतिर डान्सबार बन्द हुने तयारीमा थियो। डान्‍सबारका स्टाफले मगर र दोचेको ठाउँमा बिल पुर्‍यायो। उनीहरूले वियर र ह्विस्की खाएको ९ हजार रुपैयाँ पुगेको थियो। दुवैजना बिल तिर्न उठे। मगरले खल्तीबाट नेपाली एक हजारका नौ थान नक्कली नोट काउन्टरका कर्मचारीलाई दिए। सादा पोसाकका प्रहरीलाई ती नोट देखेर शंका लाग्यो र युवाहरूसँगै काउन्टरमा गए। उनीहरूले बुझाएका नोट नक्कली हुन् भन्ने प्रहरीलाई पक्का भएपछि दुवैजनालाई पक्राउ गर्‍यो। उनीहरूको साथबाट प्रहरीले थप नेपाली एक हजारका २८ थान नोट बरामद गर्‍यो। उनीहरूको साथबाट प्रहरीले कुल ३७ हजार नेपाली नक्कली नोट बरामद गरेको छ।

यसरी बनाउने गरेका थिए नक्कली नोट

पक्राउ गरेपछि मगर र दोचेले दिएको बयानका आधारमा प्रहरीले शनिबार नक्कली नोट बनाउने थप तीनजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा  पर्सा विरुवाका घर भई हाल कीर्तिपुर मच्छेगाउँ बस्ने इन्द्रबहादर श्रेष्ठ, गोर्खा सहिद लखन गाउँपालिका ८ घर भई हाल मच्छेगाउँ बस्ने नारायण श्रेष्ठ र पर्सा विरुवाकै राज श्रेष्ठ रहेका छन्।

उनीहरू पाँच जनामध्ये नक्कली नोट बनाउने गिरोहका मुख्य योजनाकार इन्द्रबहादर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाको भनाइ छ। श्रेष्ठ यसअघि हातहतियार खरखजाना मुद्‍दामा ११ महिना जेलसमेत बसेको देखिएको लामाले बताए।

उनीहरूले कीर्तिपुरको एक घरको दुईवटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने गरेको लामाले बताए। उनीहरूको कोठाबाट प्रहरीले पैसा छाप्ने मेसिन एक थान, पैसा छाप्न प्रयोग हुने कागज, मोबाइल छाप, एनआइसी बैंकको नक्कली चेकसमेत बरामद गरेको लामाले बताए।

निसानामा रेष्टुरा र रात्रिकालीन व्यवसाय

नक्कली कारोबारीको पहिलो निसाना होटल, रेष्टुरा, किराना पसलदेखि रात्रिकालीन व्यवसाय हुने  गरेको प्रहरीको भनाइ छ। उनीहरूले सक्कली नोटमा मिसाएर पनि नक्कली नोट बजारमा पठाउने गरेको खुलेको परिसरका प्रमुख लामाले बताए।

पक्राउ परेका पाँच जनाले करिब पाँच लाख नक्कली नोट छापेको र त्यसमध्ये केही बजारमा पठाएको पाइएको लामाको भनाइ छ। यसबारे थप अनुसन्धानका क्रममा रहेको लामाले बताए। उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २५६ अनुसार पाँच वर्षदेखि १० वर्ष कैद र पचास हजारदेखि एक लाख जरिवानासम्म हुनसक्ने प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.