|

दार्चुला : पछिल्लो समय धार्मिक क्षेत्रहरूको संरक्षण र सम्बर्द्धन गर्ने होडबाजी नै चलेको छ। सरकारी अनुदान रकम खर्च गरेर पनि धार्मिकस्थलहरूको संरक्षण गर्ने र त्यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने होडबाजी चलिरहेकै बेला दार्चुलाको दुहूँ क्षेत्रको धार्मिक क्षेत्र भने खर्कको चपेटमा परेको छ।

दुहूँगाउँपालिका २ र नौगाढ गाउँपालिका १ को सीमा क्षेत्र रहेको समुद्री सतहबाट झण्डै ३८०० मिटर अग्लो चुली ‘सिद्ध टोपी’ क्षेत्र हिन्दू परम्परामा मै बिरलै पाइने सृष्टिकर्ता ब्रह्मासँग जोडिएको छ। सिद्ध टोपी क्षेत्र उक्त चुलीका कारण मात्रै नभई यो क्षेत्रमा रहेका तीन दह (ताल) का कारण पनि प्रशिद्ध छ। यो क्षेत्रमा पर्ने तीनवटै दहहरू धार्मिक मान्यता र किम्बदन्तीसँग जोडिएका छन्। 

सिद्ध टोपीको चुलीभन्दा झण्डै ३०० मिटर तल रहेको ब्रह्म दह, उक्त दहभन्दा करिब १५० मिटर तल रहेको पासा दह र पासा दहभन्दा करिब २०० मिटर टल टोटे दह रहेको छ। तीन दह र सिद्ध टोपीका कारणले मात्रै नभएर यो क्षेत्रको पूर्वी क्षेत्रमा भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये एक नागेश्वर र पश्चिममा भगवान ब्रह्माको मन्दिर रहेका कारणले पनि धार्मिक हिसावले पवित्र मानिन्छ। यसरी धार्मिक हिसावले प्रख्यात र पवित्र मानिएको यो क्षेत्र पछिल्लो समय खर्कको चपेटमा पर्दै आएको छ।

दुहुँ गाउँपालिका २ का स्थानीयका गाईवस्तुहरू यो क्षेत्रमा निर्बाध चरिचरन गर्ने हुँदा यो तालहरू मात्रै प्रदुषित भएका छैनन् उच्च क्षेत्रमा गाईवस्तुहरूले बनाएका गोरेटाका कारण जमिनमा दरार समेत पर्न थालेका छन्। 

महादेव र ब्रह्माका साथै देवता र राक्षसहरूको क्रीडास्थल सिद्ध टोपी

दुहुँ गाउँपालिका २ र नौगाड गाउँपालिका १ को सीमा क्षेत्र पर्ने सिद्ध टोपी क्षेत्र सृष्टिकर्ता ब्रह्मा र संहारकर्ता महादेवसँग मात्रै जोडिएको छैन यो क्षेत्र देवता र राक्षसहरुको क्रीडास्थल (पासा खेल्ने) का रुपमा रहेको मान्यता यो क्षेत्रमा रहेको पाइन्छ।सिद्ध टोपीको पूर्वी क्षेत्र (नौगाढ गाउँपालिका १) मा महादेवका १२ ज्योतिर्लिङ्गमध्ये नागेश्वर धाम रहेको छ भने स्वयम् महादेवको स्थापना पाइन्छ। त्यसैगरी पश्चिम क्षेत्र (दुहुँ गाउँपालिका २) मा अन्यत्र बिरलै पाइने ब्रह्म (ब्रह्मा) देवताको मन्दिर समेत छ। यो क्षेत्रका अधिकांश स्थानीयले ब्रह्मालाई कुल देवता पूज्ने गर्दछन्।

सिद्ध टोपी क्षेत्रको धार्मिक महात्म्य ब्रह्मा र महादेवसँग मात्रै सिमित हुँदैन। राक्षस र देवताबीच पासा खेल्ने ठाउँका रुपमा पनि यो क्षेत्र प्रचलित छ। यो क्षेत्रका १०० देखि २०० मिटरको फरकमा तीनवटा दह (ताल) रहेका छन्। यी तीनवटै दहहरूसँग आफ्नै किम्बदन्ती समेत छ।

सबैभन्दा तल पर्ने टोटे दह राक्षस तालका रुपमा चिनिन्छ। यो दहको पानी रातो देखिन्छ। टोटे दहभन्दा झण्डै १५० मिटर उचाइमा पासा दह पर्छ। यसको पानी धमिलो छ। यो दहमा राक्षस र देवताहरूले श्रावण महिनामा पासा खेल्ने जनविश्वास र किम्बदन्ती छ। त्यसैगरी पासा दहभन्दा करिब १०० मिटरको उचाई र सिद्ध टोपीबाट करिब ३०० मिटर तल ब्रम्ह दह छ। यो दहको पानी सफा छ र निलो देखिन्छ। 

राक्षस र देवताहरूबीच लडाइँ हुँदा राक्षसले ब्रह्म दहलाई सानो बनाउन दहको उत्तरतिरबाट पहिरो झारेको र टोटे दहलाई सुकाउन ब्रह्माले उक्त दहका पनि धर्तीमा छिराएको किम्बदन्ती पनि रहेको छ। त्यसैले हिउँदामा टोटे दहको पानी सुक्ने र अन्य दुई दहको पानी नसुक्ने गरेको स्थानीय बताउँछन्।

धार्मिक महत्व बोकेको यो क्षेत्रमा श्रावण महिनामा दीप प्रज्वलन गर्ने र पूजापाठ गर्नेहरूको यो क्षेत्रमा भीड लाग्ने गर्दछ। निक्कै उचाइ रहेको र बासको व्यवस्था नभएका कारण पश्चिमतिरबाट उक्त क्षेत्रमा जाने भक्तजनहरू दुहुँ गाउँपालिका २ का बिभिन्न बस्तीहरूका बास बस्ने र पूर्वतिरबाट आउने भक्तजनहरू नौगाढ गाउँपालिका १ का बिभिन्न बस्तीहरूमा बास बस्ने गर्दछन्।

सिद्ध टोपी पुग्ने दुई रुट

धार्मिक रुपले प्रसिद्ध सिद्ध टोपी क्षेत्रमा पुग्न दुई रुट छन्। नौगाढ गाउँपालिका १ नागु क्षेत्र र दुहुँ गाउँपालिकाको २ हिकिला क्षेत्र। हिकिलाबाट ४ देखि ५ घण्टाको उकालो घोरेटो बाटो भएर सहजै सिद्ध टोपी पुगिन्छ भने नागु क्षेत्रबाट भिरालो पहाडी मसिनो बाटो भएर उक्तिकै समयमा सिद्ध टोपी पुगिन्छ। हिकिला क्षेत्रबाट सिद्ध टोपी चढ्दा ब्रह्म देवताको मन्दिर भएर जानु पर्ने हुन्छ भने नागुबाट नागेश्वर र महादेव मन्दिर भएर जानु पर्ने हुन्छ। 

पहाडी बाटोको रोमाञ्चकता, भिरालो बाटोको खतरा मोल्न चाहानेहरुको लागि नागुको बाटो उपयुक्त हुने दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक माधवप्रशाद अवस्थी बताउँछन्। उचा पहाडी थुम्काहरू र उचाइको जटिलता खोज्नेहरूको लागि पूर्वतिरको बाटो उपयुक्त छ तर सहजै सिद्ध टोपी पुग्न खोज्नेहरूका लागि भने पश्चिमको बाटो उपयुक्त रहेको उनको भनाई छ।

पहाडको मनोरम दृष्य, अपिहिमालको छेउँ हुँदै डडेल्धुराको भुभाग हेर्दै पहाड उक्लिन चाहनेहरूका लागि नागेश्वर धाम भएर जाने बाटो उपयुक्त हुने स्थानीय शिक्षक करनसिह डडाल बताउँछन्। सिद्ध टोपीको चुलीमा पुगेपछिको दृष्यपान गर्न सकिने प्राकृतिक सौन्दर्यता, अपी हिमालको छेउ, डडेल्धुरासम्मको भुभाग र भारत उत्तराखण्डमा पर्ने पञ्चाचुली हिमालको मनोरम दृष्यले यो क्षेत्रमा पुग्नेहरुलाई आनन्दित बनाउने गर्दछ। त्यसैगरी भिराला फाँटमा पर्ने सुगन्धित फूलहरूले पनि यो क्षेत्रमा पुग्ने नागरिकलाई मोहित पार्ने गर्दछन्।

धार्मिक क्षेत्रमा गाईवस्तुको ओइरो 

चरन क्षेत्र व्यवस्थापन हुन नसक्दा यो धार्मिक क्षेत्रमा गाइवस्तुले निर्बाध र अनियन्त्रित चरिचन गर्दा यो क्षेत्रको सौन्दर्यता घट्दै गएको स्थानीय बताउँछन्। केही वर्ष पहिले ब्रह्म दहमा भैंसी मरेका कारण ब्रह्म दहको पानी सुक्न थालेको जनविश्वास पनि छ। दहको सुरक्षा गर्न नसक्दा र गाइवस्तुहरू अनियन्त्रित छोड्दा दहको पानी नै सुक्न थालेको दुहुँ गाउँपालिका २ का करनसिहले बडाल बताए। यो क्षेत्रमा गाईवस्तु मात्रै नभएर भेँडा, बाख्रा र च्याङ्ग्रा समेतको अनियन्त्रित चरिचरन हुँदा थप समस्या आएको नौगाढ गाउँपालिका १ का अध्यक्ष करनसिह डडालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.