१२५ सुरक्षाकर्मी परिचालन

|

कपिलवस्तु : जिल्लाकै प्रमुख व्यापारिक केन्द्र कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत कार्तिक २ गते कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति बिर्सजनका क्रममा भएको विवादपछि तनावग्रस्त बनेको कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेका हो।

अर्को आदेश नआउन्जेलसम्म कर्फ्यू जारी रहने स्थानीय प्रशासनले जनाएको छ। कृष्णनगरमा गत कार्तिक २ गते साँझ मूर्ति बिर्सजनका क्रममा भएको विवादले अग्ररूप लिएपछि कर्फ्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए।

आइतबार दिउँसो जिल्ला सुरक्षा समितिको बसेको बैठकले सो निर्णय गरेको प्रजिअ पोखरेलले जानकारी दिए। तीन दिनदेखि स्थानीय अगुवा र विभिन्न पक्षसँग पटकपटक छलफल गर्दा पनि स्थिति नियन्त्रणमा नआएको उनको भनाइ छ।

पूर्वमा सेमरा, पश्चिममा झण्डेनगर र उत्तरमा बडेया पोखरी र दक्षिणमा दशगजा चौकिल्ला कायम गरी कर्फ्यू लगाइएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए। कृष्णनगर बजारमा समूह बनाएर हिडडुल गर्ने, जम्मा हुने, शान्ति सुरक्षालाई खलल हुने कुनै पनि कार्य गरे स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रजिअ पोखेरलले बताए।

कार्तिक २ गते कृष्णनगर बजारमा दुर्गा भगवतीको मूर्ति बिर्सजनका क्रममा भीडलाई लक्षित गरी ढुंगा प्रहार गरिएपछि कृष्णगनर बजार तनावग्रस्त बनेको हो। सो घटनाले अग्ररूप लिएको प्रहरीले जनाएको छ। घटनापछि दोहोरो डुंगा हानाहानका साथै झडपसमेत भएको थियो।

प्रहरीले तीन दिनदेखि शान्ति सुरक्षा कायम गर्न प्रयास गरे पनि विफल भएको कृष्णनगर बजारका बासिन्दाले बताएका छन्। आक्रोशित भीडले भन्सार कार्यालयलगायतका विभिन्न स्थानमा तोडफाडसमेत गरेको प्रहरीले जनाएको छ। सो घटनापछि दुर्गा बिर्सजन कार्यसमेत रोकिएको प्रहरी नायव उपरीक्षक रावलले बताए। उनका अनुसार कृष्णनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १२५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सो घटनापछि कृष्णनगर भन्सार कार्यालयमा आयातनिर्यात कार्यसमेत रोकिँदा दैनिक लाखौँ रुपैयाँ राजस्व घाटा भएको भन्सार कार्यालयले जनाएको छ।

सो नाकाबाट आउजाउ गर्न गाडी नचल्दा यात्रुले समेत दुःख पाएका छन्। रोकिएको दुर्गा भगवतीको मूर्ति बिसर्जन आइतबार साझदेखि पुनः सुरु गरिएको प्रजिअ पोखरेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.