होला त नेविसंघको महाधिवेशन र महासमिति बैठक?

|

काठमाडौं : लामो सयमदेखि गुटगत राजनीतिमा फसिरहेको नेपाली कांग्रेस अहिले भद्रगोल अवस्थामा पुगेको छ। दुई समूहबीचको संवादहीनताको अवस्थाले संगठन नै भद्रगोल अवस्थामा पुगेको हो। सभापति शेरबहादुर देउवा समूह र इतर समूहबीच पानी बाराबारको अवस्था आउँदा कांग्रेसले आफ्ना धेरै एजेण्डाहरू अघि बढाउन सकेको छैन।  

कांग्रेसमा एक महिनाभित्र दुई ठूला काम गर्नुपर्ने जिम्मेवारी छ। पार्टीको महासमिति बैठक यही मंसिर ५ गतेदेखि ९ गतेसम्म बोलाइएको छ भने भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महाधिवेशन मंसिर २ गतभित्र गर्नै पर्ने विधानमा बाध्यकारी व्यवस्था छ। तर कांग्रेसको अहिलेको अवस्थाले यी दुई काम समयमै सम्पन्न गर्न असम्भव जस्तै देखिएको छ।

सभापति देउवा र इतर समूहबीच पानी बाराबारको अवस्था आउँदा अहिले कांग्रेसमा भद्रगोल अवस्था आएको हो। असोज २१ गते मध्य राति सभापति समूहले बहुमतको बलमा केन्द्रीय समिति बैठकमा नेविसंघमा ३२ वर्षे उमेर हद लगाउँदै विधान पारित गरेपछि सभापतिइतर समूहका चार नेताले पार्टी केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीले बैठकमा फरक मत राखे। विधानलाई अध्ययननै गर्ने मौका नदिई विधान बहुमतको बलमा पारित गरेको भन्दै उनीहरूले असोज २५ गतेको केन्द्रीय समिति बैठक वहिष्कार गर्ने आन्तरिक रूपमा निर्णय गरे। उक्त निर्णय सुनेलगत्तै सभापति देउवाले इतर समूहका मियो मानिएका सिटौलालाई निकै फकाउने कोसिस गरे। तर सिटौलाले मान्ने छाँटकाँट नगरेपछि उक्त बैठक स्थगित गर्ने अवस्थामा देउवा पुगे।

उक्त बैठक स्थगित भएपछि असोज २९ गते आफ्नो धारणा तय गर्न सभापतिइतर समूहका नेताहरू पार्टी महामन्त्री डा. शशांक कोइरालाको घरमै गोप्य बैठक बसे। सभापतिले उक्त विधान फिर्ता लिएर नेविसंघले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान बैठकमा प्रस्तुत नगरेसम्म आफूहरू बैठकमा नबस्ने उनीहरूले निर्णय गरे। तर सभापति समूहमा उक्त विधान फिर्ता ल्याएर नेविसंघको विधान पेस गर्ने मनस्थितिमा छैनन्।

बैठक स्थगित गरेपछि सभापति देउवा भने सहमतिको प्रयासमा समेत जुटेका छैनन्। कांग्रेस नेताहरू भने यो दशैँको समयलाई एकअर्काको बीच सहमतिको प्रयास गर्न सदुपयोग गर्नुपर्ने बताउँछन्। तर सभापति देउवा समूह भने कर्मचारी जस्तो ढुक्कले दशैँ बिदा लिएर बसेको उनीहरूको आरोप छ। ‘यही समय हो, एकअर्काबीचको दूरी कम गर्ने’, कांग्रेस नेता अर्जुनरसिंह केसीले भने,‘ सभापतिले शुभकामना आदानप्रदानको कार्यक्रम तय गरेर सहमतिको वातावरण तय नगर्नुपर्ने हो। तर उहाँ त बिदामा बसे जस्तो चुपचाप हुनुहुन्छ।’

पछिल्लो समय सभापति समूह र इतर समूहबीच संवादहीनताको अवस्था छ। सभापतिले चासो नदेखाएपछि इतर समूहका नेताहरू पनि अब आउने बैठक वहिष्कार गर्ने मनस्थितिमा छन्। ‘बैठक नै वहिष्कार गर्ने भन्ने त हुँदैन। तर छलफल नै नगरी बहुमतमा निर्णय भएमा हामी जानुको औचित्य के’, नेता केसीले प्रश्न गर्दै अगाडि थपे,‘ उहाँहरूले नेविसंघले दिएको विधान छलफलमा ल्याउनुभयो भने हामी बैठकमा बस्न तयार छौँ।’

कांग्रेसमा भ्रातृ संस्थाले सर्वसम्वत् दिएको विधान लत्याएर पार्टीले आफैँ पेल्न खोजेको यो पहिलो घटना भएको उनी बताउँछन्। ‘भ्रातृ संस्थाले ल्याएको विधान अलिअलि थपघट हुने गरे थाहा थियो’, उनले भने,‘तर पूर्णरूपमा नयाँ विधान ल्याएको यो पहिलो घटना हो। प्रक्रियामा ल्याएर नेविसंघले नै पठाएको विधान छलफल गरे त भइहाल्यो नि।’

नेविसंघको विधानमा मुख्य विवाद उमेर हद रहेको नेता डा. शेखर कोइराला बताउँछन्। ‘यसमा देखिएको मुख्य समस्या उमेर हद हो’, उनले भने,‘उमेरका विषयमा सबैको अआफै सोचाइ होला तर प्रक्रियामा त ल्याउन पर्‍यो नि! उहाँहरूले नेविसंघ विघटन गरेर नाम टाँस्ने समिति ल्याउन खोज्नु भएको होला। यो हामीलाई मान्य हुँदैन।’

यसरी पार्टीभित्र संवादहीनताको अवस्था आउनु पार्टीकै लागि घातक भएको कोइराला बताउँछन्। ‘सभापतिले वरिष्ठ नेता र अरू नेताहरूलाई बोलाउनुभएको छ भने थाहा भएन। जहाँसम्म लाग्छ उहाँले बोलाउनु भएको छैन। यसरी पार्टीभित्र संवादहीनताको अवस्था आउनु घातको हो’, उनले भने,‘पार्टीको जीवनमा दीर्घकालीन असर पर्छ यसले। सभापतिले यो गलत गरिरहनु भएको छ।’

एक महिनाभित्र महासमिति बैठकका लागि पनि विभिन्न उपसमिति बनाउनुपर्ने छ। यस्तै, विधान मस्यौदा समितिले तयार पारिरहेको विधानलाई केन्द्रीय समिति बैठकबाट पारित गरेर महासमितिसम्म लैजानुपर्ने अवस्था छ।

तर पार्टीका नेताहरू दुई खेमामा विभाजित हुँदा मस्यौदा समितिले पेस गर्ने विधान पनि सर्वसम्वत् पारित हुने सम्भावना न्यून छ। त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउनुपर्ने हुन्छ। नेताहरूबीच विवाद उत्पन्न भएर संवादहीनताको अवस्था भएका कारण केन्द्रीय समिति बैठक राख्नै देउवालाई चुनौती छ। अहिले दशैँका कारण नेताहरू राजधानी बाहिर छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल तीर्थयात्राका लागि भारततर्फ लागेका छन्।

सभापति पनि मौन भएका कारण दशैँलगत्तै पनि केन्द्रीय समिति बैठक ढाक्न निकै मुस्किल छ। यस्तै, दशैँलगत्तै तिहार र छठ पर्व छ। त्यसकारण सभापति देउवाको मौनताले मंसिर ५ देखि ९ गतेसम्म बस्ने भनिएको महासमिति बैठकमा पनि असर पुग्ने नेता केसीले बताए। ‘पार्टी सभापति सहमतिको प्रयास गर्नुहुन्न। नेताहरूबीच विभाजनको अवस्था छ। यस्तो अवस्थामा कसरी महासमितिलाई असर गर्दैन र?’, उनले भने, ‘यसले नेविसंघको महाधिवेशन र महासमित बैठक दुवैलाई अन्यौल बनाएको छ।’

यस्तै, संसदमा प्रमुख प्रतिपक्षी दल बनेको कांग्रेसले आफूभित्रको समस्या मिलाउन नसक्दा अहिले संसदमा पनि कमजोर बनेको छ। देशमा घटेका राष्ट्रिय मुद्दालाई उसले उठाउनै नसकेको आरोप लाग्न गरेको छ। कतिपय संवेदनशील मुद्दाहरूलाई पनि कांग्रेसले पार्टीले निकाल्ने विज्ञप्तिमा मात्र सीमित बनाएको छ।

कांग्रेस कमजोर प्रतिपक्ष हुनुमा नेतृत्वकै कमजोरी भएको युवा नेता प्रदीप पौडेल बताउँछन्। ‘कांग्रेसले बोल्दै बोलेन त भन्न मिल्दैन तर जसरी उठाउनुपर्ने हो त्यसरी उठाउन सकेको छैन’, उनले भने, ‘अहिले कांग्रेस कमजोर अवस्थामा प्रतिपक्षमा छन्। हाम्रो नेतृत्वमा सशक्त प्रतिपक्षको भूमिकामा उभिने ईच्छा शक्ति नै छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.