|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङ हुँदै यस वर्षको दशैंमा करिब ३० करोड रुपैयाँ बराबरका भेडा, च्याङ्ग्राको निकासी भएको छ। 

मुस्ताङमा उत्पादन भएकासहित डोल्पा, मुगु र तिब्बतबाट खरिद गरिएका १६ हजार ७०० भेडा, च्याङ्ग्रा मुस्ताङबाट बाहिरिएको म्याग्दीमा रहेको पशु सेवा केन्द्रअन्तर्गत सम्पर्क कार्यालय मुस्ताङका प्रमुख पशु चिकित्सक शिव भुसालले जानकारी दिए। उनका अनुसार १३ हजार ९८५ भेडा र दुई हजार ७१५ वटा च्याङग्रा स्वास्थ्य परीक्षणपछि बिक्रीका लागि मुस्ताङबाट बाहिर पठाइएको हो। यीमध्येबाट नेपाल खाद्य संस्थानले ९२५ वटा काठमाडौंका लागि खरिद गरेको थियो।

यस म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, चितवन, तनहुँ, स्याङ्जा, काठमाडौं, सिन्धुपाल्चोकलगायतका ठाउँका व्यापारीहरुले मुस्ताङ पुगेर भेडा, च्याङग्रा खरिद गरेका थिए। जोमसोममा एउटा च्याङग्रा २० देखि २२ हजार र भेडा १७ देखि १९ हजार रुपैयाँसम्म किनबेच भएको थियो। निर्यात गरिएका भेडा तथा च्याङ्ग्रामध्ये करिब ८० प्रतिशतभन्दा बढी मुस्ताङकै उत्पादन हुन्। 

दशैँबाहेक तिहारका लागि पनि मुस्ताङबाट भेडा र च्याङ्ग्राको निकासी हुने गरेको छ। यस वर्ष तिहारका लागि करिब पाँच हजार वटा भेडा र च्याङग्रा निकासी हुन सक्ने पनि पशु चिकित्सक शिव भुसालले बताए। 

मुस्ताङबाट खरिद गरिएका भेडा तथा च्याङ्ग्राहरु कतिपय व्यापारीहरुले हिँडाएरै म्याग्दीसम्म झारेका थिए भने कतिपयले मुस्ताङबाट नै ट्रकमार्फत ढुवानी गरेका थिए। स्थानीय तहहरुले लिएका करका कारण यस वर्ष अघिल्ला वर्षको तुलनामा मुस्ताङबाट निर्यात हुने भेडा र च्याङग्रा महँगो भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.