|

ओखलढुंगा : मानेभञ्ज्याङ गाउँपालिका–३ मा चिण्डोपार्क (स्वालेवा) निर्माणको काम अन्तिम चरणमा पुगको छ। किराँती साँस्कृतिक प्रतीक बनाउने उद्देश्यले अघिल्लो वर्ष निर्माण थालिएको थियो।

चिण्डोपार्कमा ३५ फिट अग्लो चिण्डोको स्तम्भ निर्माण गरिसकिएको छ। पार्कमा अदुवाको बिम्वात्मक स्तम्भ निर्माणको काम पनि सकिएको छ। यी दुवै स्तम्भको रंगरोगन बाँकी छ। पार्कभित्र रहने सांस्कृतिक नमुना घर (किराँती संग्राहलय) को काम पनि भइरहेको छ। वाम्बुले राई समाज, नेपाल (वाम्रास) को पहल र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान मूर्तिकला विभागको प्राविधिक सहयोगमा निर्माण सुरु भएको हो।

किराती संस्कृति अनुसार चिण्डो र अदुवा धर्मकर्म र मृत्युकर्ममा अनिवार्य मानिन्छ। चिण्डो पार्क निर्माण समितिका अध्यक्ष शुभचन्द्र राईका अनुसार झण्डै ६० लाख रुपैयाँको लागतमा निर्माण थालिएको हो। पूर्व सांसद रामहरि खतिवडाले सांसद विकास कोषबाट १५ लाख रुपैयाँ प्रदान गरेका थिए। मानेभञ्ज्याङ गाउँपालिकाको नौ लाख रुपैयाँ र अरु देश तथा विदेशमा गरिएको आर्थिक सहयोग संकलनबाट पार्क निर्माण थालिएको हो। 

राई जातिको मुख्य बसोबास रहेको उँबूमा किराँती सांस्कृतिक प्रतीकका रुपमा निर्माण थालिएको पार्कले समुदायको भाषा, धर्म, लोकसंस्कृतिलाई बचाउन टेवा पुर्‍याउने मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए। त्यस्तै उपाध्यक्ष सविता राईले उँबु गाउँको सडकदेखि अन्य निर्माणका विषयलाई थाती राखेर धर्म र संस्कृति जोगाउँदै पर्यकीय क्षेत्र बनाउनका लागि पार्क निर्माणलाई प्राथमिकतामा राखेर निर्माण थालिएको बताइन्।

समुद्री सतहदेखि करिब १७ सय मिटर उचाइमा रहेको उँबू गाउँमा यो पार्क निर्माण भइरहेको छ। यहाँबाट उत्तरतर्फ सोलु, पूर्वतर्फ खोटाङ र भोजपुर, दक्षिणतर्फ उदयपुर र पश्चिमतर्फ सिन्धुली जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.