|

पाँचथर : नदी तथा खोलामा पुल निर्माणपछि डुंगा चलाएर जीविकोपार्जन गर्दै आएका माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित भएका छन्। पाँचथर र तेह्रथुमको सीमा हुँदै बग्ने तमोर नदीको ठाउँ–ठाउँमा बनाइएका झोलुङ्गे पुलका साथै मोटरेबल पक्की पुलका कारण माझी समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन बाध्य भएका हुन्।

डेढ दशकअघिसम्म तमोर नदीमै मिसिने सहायक नदी काबेली नदी क्षेत्रदेखि सुनसरीको चतरासम्म तमोर नदी किनारका घाटैपिच्छे डुंगा देखिन्थे। तर, झोलुंगे र पक्की पुल बनेपछि नदी किनारका घाटहरुमा कतै पनि डुंगा देखिन छाडेका छ।

पाँचथर, माझीटारकी ममता माझीले २०५८ सालमा माझीटारमा झोलुङ्गे पुल बनेपछि डुंगाको प्रयोग नआएको बताइन्। पुलबाट नै मानिसहरु आवातजावत गर्न थालेपछि शेयरमा रहेको डुंगा नदीमा चलाउन छाडेको उनको भनाइ छ। ‘पुल बनेपछि डुंगा छैन। मानिसहरु डुंगाभन्दा पुलदेखि नदी वारिपारि गर्न थाले,’ उनले भनिन्, ‘नदी तार्दा पाँच रुपैयाँ मात्रै शुल्क थियो, नपोसाउने भएकाले चलाउनै छाडियो।’

डुंगा खियाएर मानिसहरुलाई नदी वारि र पारि पु¥याउँदै सेवा बापत शुल्क उठाउँदै आएका माझी समुदायको जीविकोपार्जनको आधार नै डुंगा हो। पुल बनेपछि डुंगा प्रयोगविहीन हुँदा उनीहरुको रोजीरोटी गुम्यो। त्यसैले कसरी बाँच्ने भन्ने चिन्ता पनि थपिएको उनीहरुको गुनसो छ।

माझी समुदायका अगुवा जसबहादुर माझीले माझीटारमा पुल बन्नु पहिले दैनिक अढाई सय जनासम्म मानिसलाई नदी पार गरेको स्मरण गरे। ‘दिनहुँ एक÷दुई हजार रुपैयाँ हुन्थ्यो। माछा पनि मारिन्थ्यो। साहुकोमा खेती पनि गरिन्थ्यो,’ उनले भने, ‘पुलले गर्दा नै डुंगाको काम नआएपछि कसैले खोलामा बगाए, कसैले चिरेर दाउरा बाले।’

पुल निर्माण नहुँदा सुनसरीको चतरा, धनकुटाको मुलघाट, याक्चानाघाट, साप्टिङघाट, भैँसे, सदाम, हाक्पारा घाट, पाँचथरको लखुवा दोभान, लुबुघाट, माझीटार, नक्कलेघाट, पिनासीघाटलगायतका तमोर नदी किनारका घाटहरुमा डुंगा नै डुंगा हुन्थे। तर पुल बनेसँगै माझीको डुंगा थियो अरे भन्ने अवस्थामा पुगेको माझीहरु बताउँछन्।

बैशाख महिनामा पर्ने माझी समुदायको खोलाकोसी पर्वमा डुंगा चाहिने भएकाले अहिले उनीहरुले सानो नमुना डुंगा राखेका छन्। ‘सांस्कृतिक रुपमा पनि माझीलाई डुंगा चाहिन्छ, ’ जसहादुरले भने, ‘खोला किनारमा डुंगा राखेर बोका र भालेको भोग दिइन्थ्यो, अहिले त यस्तो डुंगा छ, खोलाकोसी पूजामा निकाल्छौ र पूजा गर्छौं।’

विकासले माझी समुदाय पुख्र्यौंली पेशााबाट विस्थापित भएकाबारे सम्बन्धित निकायलाई पटक पटक स्मरण गराए पनि कुनै सुनुवाइ नभएको माझी संघका केन्द्रीय सदस्य राम माझीले बताए। ‘जिल्ला प्रशासन कार्यालय गएर पनि हामीले भन्यौँ कि पुलजस्ता विकासको पूर्वाधार निर्माण हुनु राम्रो भए पनि हाम्रो पुर्ख्यौली पेशा सदाका लागि अन्त्य भयो भन्यौं,’ उनले भने, ‘हाम्रो बैकल्पिक पेशाको व्यवस्था गर्न भन्यौँ। तर वास्तै गरेनन्।’

आदिवासीहरुका अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र  (युएनड्रिप) र अन्तर्राष्ट्रिय श्रम संगठन नम्बर १६९ लाई नेपाल सरकारले अनुमोदन गरेको छ। यसअनुसार आदिवासी जनजातिको इलाकामा विकास निर्माणको संरचना निर्माणमा ती समुदायको स्वतन्त्र, अग्रिम, सु–सूचित मञ्जुरीनामा लिइनु पर्ने हुन्छ। तर, नदी किनारमा रहेका माझी वस्ती छेउमा पुल निर्माण हुँदा त्यसो नगरिएको माझी अगुवाहरु बताउँछन्। ‘पुल बन्नु विल्कुल राम्रो हो, हामीले विरोध गरेका होइनौं,’ राम माझी भन्छन्, ‘तर पुलले हाम्रो आर्थिक–सांस्कृतिक जीवनमा पार्ने सम्भावित असरबारे प्रष्टसँगले थाहा दिइनुपथ्र्यो, त्यसो गरिएन।’

पाँचथरको फिदिम नगरपालिकाले भने माझी समुदायको पुर्ख्यौली पेशालाई निरन्तरता दिने गरी डुंगा जुटाई दिने निर्णय गरेको छ। नगर प्रमुख ओनाहाङ नेम्बाङले चालू आर्थिक वर्षमै नगरपालिकाले आर्थिक सहयोग गरी डुंगाको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘पुर्ख्यौली पेशालार्ई निरन्तरता दिन एउटा डुंगालाई के कति पर्छ, तत्कालै व्यवस्था गर्न छौं,’ उनले भने, ‘डुंगाले माझी समुदायको आर्थिक–सांस्कृतिक जीवनमा पनि योगदान दिने ठानेका छौँ।’

आदिवासी माझी समुदायका लागि नदी नै सबथोक हो। डुंगा नदीमा खियाउँदै अर्थोपार्जन गर्नेसँगै माछा मारी जीविकोपार्जन गर्दछन्। त्यसैले विकासे संरचनाहरु निर्माण गर्दा परम्परागत पेशा बचाउनेतिर पनि सोच्नु आवश्यक रहेको माझी अगुवाहरुको माग छ। राष्ट्रिय जनगणना २०६८ अनुसार पाँचथरमा ६३५ जना माझी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.