|

कपिलवस्तु : कपिलवस्तुको प्रमुख व्‍यापारिक तथा सीमावर्ती केन्द्र कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार साँझसम्मका लागि हटाइएको छ। कर्फ्यु लागू गरेपश्चात् कृष्णनगरको जनजीवन सामान्य भएकाले जिल्ला सुरक्षा समितिको विशेष बैठकले सोमबार साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको कपिलवस्तुका प्रजिअ अर्जुनप्रसाद पोख्रेलले बताएका छन्। 

आइतबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु सोमबारै बिहान ८ बजेदेखि दिउँसो १२ बजे सम्मका लागि हटाइएको थियो। चाडपर्वको समय भएकाले नागरिकलाई आवतजावत गर्न सहजता बनाउन प्रशासनले मध्यान्ह १२ बजेदेखि साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

दुर्गाको मूर्ति बिसर्जनको क्रममा विवाद भई कृष्णनगर तनावग्रस्त भएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। प्रशासनले कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो।

कर्फ्यु हटेपछि कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ। शनिबारदेखि बढेको विवाद सोमबार बिहानदेखि सामान्य बन्दै गएको छ। चाडपर्व मनाएर भारत जाने नेपालीहरूको चहलपहलसमेत कृष्णनगरमा बढ्न थालेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.