|

काठमाडौं : प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितलाई यौन हिंसाको आरोप लागेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा स्थापितले आफूलाई यौन हिंसा गरेको आरोप पत्रकार एवं अधिकारकर्मी रश्मिला प्रजापतिले लगाएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रजापतिले आफूले स्थापितको यौन प्रस्ताव अस्वीकार गर्दा जागिरसमेत गुमाउनुपरेको लेखेकी छन्। 'म स्थापितबाट कसरी यौन हिंसामा परेँ भन्ने यसअघि पनि लेखेकी थिएँ। उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ।' उनले अहिले पनि स्थापितले एक पत्रकारमाथि यौन हिंसा गरिरहेको आफूले थाहा पाएको लेखेकी छन्। उनले आफूमाथि १५ वर्षपहिले हिंसा भएको र स्थापितले अरूलाई पनि हिंसा गरेको लेखेकी छन्। दर्जनौँ महिलाले आफूमाथि स्थापितले यौन हिंसा गरेको कुरा बताएको पनि उनले लेखेकी छन्। उनीहरूमध्ये कतिपय आफ्नो फेसबुकमा साथी रहेको प्रजापतिले लेखेकी छन्।

'हामी आवाजविहीन छैनौँ, हामी स्पष्ट र ठूलो स्वरमा आवाज उठाउन सक्छौँ,' प्रजापतिले लेखेकी छन्, 'हामी यसलाई बन्द गर्न सक्छौँ, हामी दुनियाँलाई जानकारी दिन सक्छौँ कि काठमाडौं महानगरका पूर्वप्रमुख तथा प्रदेश ३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापित यौन पीडक हो।' यसबारे मन्त्री केशव स्थापितले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

'मी टू'ले दियो बोल्ने साहस

अहिले विश्वभर महिलामाथि कार्यस्थल र अन्य ठाउँमा भएका यौनहिंसाबारे बोल्ने सिलसिला सुरु भएको छ। हलिउडमा यसअघि नै 'ह्यासट्याग मी टू' ( #MeToo ) अर्थात् 'म पनि' अभियान मार्फत फिल्म कलाकार र अन्य क्षेत्रमा काम गर्ने महिलाहरूले आफूमाथि भएका यौनहिंसाबारे अभियान नै चलाएका थिए। यो अभियानका कारण नै कतिपय फिल्म निर्माता र निर्देशक जेल चलानसमेत भए भने कतिपयले कामबाट पनि हात धुनुपरेको थियो।

#MeToo अभियान पछिल्लो समय भारतमा चर्चाको शिखरमा छ। भारतीय फिल्म उद्योग बलिउडमा निर्माता, निर्देशक, कलाकार, गायकमाथि यौन हिंसा गरेको आरोप लागेको छ। यो अभियानको चपेटामा भारत सरकारका मन्त्रीले पदसमेत गुमाएका छन्। विगतमा पत्रकार रहेका बेला भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले दर्जनौँ महिलामाथि यौनहिंसा गरेको सार्वजनिक भएपछि उनले राजीनामा दिनुपरेको थियो। दर्जनौँ कलाकार कामबाट निकालिएका छन् भने कानुनी कारबाही पनि चलेको छ।

नेपालमा #MeToo को आरोप लागेका नेता स्थापित सम्भवतः पहिलो हुन्। उनलाई आरोप लगाउने रश्मिला प्रजापतिले पनि 'ह्यासट्याग मी टू' अभियानको पाटोकै रूपमा आफूमाथि भएको यौन हिंसा सार्वजनिक गरेकी हुन्। प्रजापतिले यसरी महिलामाथि हिंसा गर्ने व्यक्तिहरू जहाँतहीँ भएको लेखेकी छन्। प्रजापतिले लेखेकी छन्, 'नेपालमा पनि यौन पीडकहरू जहाँतहीँ छन् जो आफ्नो शक्ति र ओहदाको दुरुपयोग गरिरहेका छन्। उनीहरूलाई सार्वजनिक गर्ने यो उपयुक्त समय हो। यस्ता मान्छेहरू राजनीति, कर्मचारीतन्त्र, कलाकार, सञ्चारकर्मी, लेखक, व्यापारी… यौन पीडकहरू जताततै छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.