|

लहान : पूर्व-पश्चिम सडकअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका कठौना खण्डमा सोमबार बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा. ४ ख ४४७० नम्बरको बस ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई देवधार भन्ने ठाउँनजिक सडकदेखि उत्तरपट्टि पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा बसका सहचालक काभ्रेपलाञ्चोक घर भएका करिब ४५ वर्षीय दीपक राई घाइते भई सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्थानीय पोलिक्लिनिकमा उपचार हुँदै

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबै आठ जनाको खरचुहियास्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ। दुर्घटनामा सबैभन्दा बढी सुनसरीका विभिन्न ठाउँका गरी छ जना घाइते छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका ३ बस्ने ३१ वर्षीय सन्तोष लिम्बू, २७ वर्षीया बिता श्रेष्ठ, ७ की ५४ वर्षीया जानुका बाँस्तोला घाइते छन्।

घाइतेमध्ये बास्तोलाको ढाडमा चोट लागेको र श्रेष्ठ तथा लिम्बुको हात र शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। त्यस्तै, दुर्घटनामा बराहक्षेत्र नगरपालिका ६ बस्ने ३५ वर्षीय गोपाल दाहाल, उनकी श्रीमती ३० वर्षीया लीला दाहाल दुवैको ढाडमा चोट लागेको छ भने दाहाल दम्पतिका पाँच वर्षीया छोरी सिजु दाहालको निधारमा चोट लागेको छ। 

खोटाङकाे सतनेत गाउाँपालिका १ बस्ने ३४ वर्षीया सीता राउत र भोजपुर फतुवागढी गाउँपालिका २ बस्ने २४ वर्षीया तारा कार्की दुवै जनाको घुँडामा चोट लागेर पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.