|

जनकपुरधाम : रामायणकालीन रामायण सर्किटको माध्यमबाट नेपाल र भारतलाई जाेड्न माग गर्दै एक युवकले साइकल यात्रा प्रारम्भ गरेका छन्। जनकपुरधामका ३० वर्षीय युवक रञ्जित साहले रामायणकालीन रामायण सर्किटको स्थापनाको माग गर्दै जनकपुरधामबाट भारतको अयोध्या सम्मको यात्रा प्रारम्भ गरेका हुन्।

जनकपुरधामबाट साइकल यात्राको प्रारम्भ गरेका साहलाई जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहले झण्डा देखाएर सफलताको शुभकामनासहित बिदाइ गरेका थिए। यात्राको क्रममा महोत्तरीको भिठामोड नाकामा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिका प्रमुख रामशंकर मिश्रले शुभकामना दिँदै सफलताको शुभकामनासहित बिदाइ गरेका थिए।

जेष्ठ २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधामको राजकीय भ्रमणको क्रममा प्रारम्भ भएको जनकपुरधाम-अयोध्या बस सेवालाई औपचारिकता दिएर बन्द गरिएकोलाई आवश्यक पूर्वाधारसहित सञ्चालका लागि रञ्जित साहले यात्रा प्रारम्भ गरेका हुन्। रामायण सर्किटमा भारत, नेपाल, श्रीलंका र इन्डोनेसियाका ऐतिहासिक स्थलहरूलाई जोड्ने क्रममा नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने पहिलो चरणको कामअन्तर्गत भएको बस सेवा सञ्चालन भएको थियो।

रामायण ग्रन्थमा राम र सीताको पदमार्गहरूलाई बस तथा रेल्वेको माध्यमबाट जोड्ने भारती प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे पनि सो काम सुस्त गतिमा भइरहेकोमा त्यसलाई तीव्रता दिन आफु अयोध्या साइकल यात्रामा निस्किएको युवा रञ्जित साहले बताए। उनले भने, ‘अयोध्या यात्राको मेरो अर्को अभिष्ट भनेको भगवान राम जस्तै अभिभावकको सेवा वर्तमान समयमा पनि सन्तान होस् भन्ने हो। अयोध्या पुगेर वृद्धा आश्रममा आमा-वुवा फाल्नेहरूको सद्वुद्धि आवस् भनी प्रार्थना गर्नेछु।’

साइकल यात्री साहले युपीका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर जनकपुरधाम अयोध्या बससेवा तत्काल सुचारु गर्न आग्रह गर्ने  समेत बताए। उनी यसअघि जनकपुरधामदेखि हलेँसी, जनकपुरदेखि मुक्तिनाथ र पशुपतिनाथको साइकलले नै यात्रा गरिसकेका छन्। यो उनको चौथो साइकल यात्रा हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.