'महिला हुँदैमा यौनिकताको कुरा ल्याएर मानहानि गर्नु अति भयो'

|

काठमाडौं : प्रदेश-३ का भौतिक योजना तथा निर्माणमन्त्री केशव स्थापितले आफूमाथि लगाएको यौन हिंसाको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। मन्त्री स्थापितले आरोप लगाउनेमाथि तत्काल कानुनी कारबाही गर्ने पनि बताएका छन्।

आफूमाथि यौन हिंसाको आरोप लगाएर मानहानि गरेको भन्दै आरोप लगाउने रश्मिला प्रजापतिविरुद्ध मुद्दा हाल्न प्रदेश ३ को राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं आउँदै गरेको बेला थाहा खबरसँगको कुराकानीमा स्थापितले भने, 'उहाँले मानहानिको मुद्दा भोग्ने हो। त्यसमा आबद्ध र्‍याकेटको पर्दाफास गर्ने हो। यो अहिले मात्र आएको होइन। पहिले पनि दुईपल्ट यस्तैगरी आरोप आएको हो।'

पढ्नुहोस्ः

स्थापितले आफू पदमा जाने बेलामा वा निर्वाचन लड्ने बेलामा यौन हिंसा गरेको भन्ने कुरा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा लेखेर प्रजापतिले मानहानि गर्ने गरेकोले अब कानुनी कारबाही गर्ने बताए। उनले भने, 'यो त अति भयो। अब मानहानिको मुद्दा त हाल्नैपर्‍यो। महिला हुँदैमा यौनिकताको कुरा ल्याएर अरूको मानहानि गर्ने?'

केशव स्थापितले करिब १५ वर्षअगाडि काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला आफूमाथि यौन हिंसा गरेको र जागिरबाट निकालेको भन्दै रश्मिला प्रजापतिले सामाजिक सञ्जाल फेसबुमार्फत सार्वजनिक गरेकी थिइन्। उनले केशव स्थापितले अहिले पनि एक महिला पत्रकारलाई यौन हिंसा गरिरहेको आफूलाई थाहा हुन आएको र विगतमा पनि दर्जनौँ महिला पत्रकारमाथि यौन हिंसा गरेकोले अब पर्दाफास गर्ने बेला आएको लेखेकी थिइन्।

रश्मिला प्रजापतिको आरोपः

स्थापितले भने प्रजापति त्यतिबेला काठमाडौं महानगरको करारको कर्मचारी भएको र आवश्यक नभएकाले निकालेको बताएका छन्। उनले बारम्बार आफूमाथि यौन हिंसा गरेको आरोप लागेकाले कानुनी कारबाही गर्ने बताएका छन्। 'मेरो कानुनी सल्लाहकारसँग कुरा गर्नुपर्‍यो भनेर काठमाडौं आउँदै छु। मिडियामा पनि आफ्नो धारणा राख्छु।'

भएको के थियो घटना?

मन्त्री केशव स्थापितका अनुसार उनको दोस्रो कार्यकालमा अन्य करारका कर्मचारीलाई निकाल्ने क्रममा रश्मिला प्रजापतिलाई पनि जागिरबाट निकालिएको हो। करारमा जागिरे प्रजापतिले विभाग सम्हालेको र उनीविरुद्ध स्थायी कर्मचारीले हड्ताल गर्ने घोषणा भएपछि आफूले निकालेको स्थापितले बताएका छन्। त्यतिबेला काठमाडौं महानगरका स्थायी र फोहोर उठाउने कर्मचारीले प्रजापतिविरुद्ध हड्ताल गरेर फोहोरसमेत नउठाउने भन्दै ज्ञापनपत्र दिएको स्थापितले बताए। 'महानगरपालिकामा करार कर्मचारी आवश्यक थिएन र हटाइएको हो। ऊ मात्र होइन अन्यलाई पनि हटाएको हो,' स्थापितले भने।

'त्यतिबेला कहाँ गएकी थिइन्?'

केशव स्थापितले आफूलाई यौन हिंसाको आरोप लगाउने रश्मिला प्रजापति झन्डै दुईदशक पछि आफूविरुद्ध किन लागिन् भनेर प्रश्न गरेका छन्। यसअघि काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बन्ने चर्चा चलेका बेला प्रजापतिले आफूमाथि उक्त आरोप लगाएको स्थापितको भनाइ छ।

स्थापितले आफ्नो पछाडि रश्मिला प्रजापतिलाई देखाएर ठूलै समूह लागेको आशंका गरेका छन्। उनले त्यसको पर्दाफास गर्ने पनि बताएका छन्। भारतमा यौनहिंसाविरुद्ध #MeToo अभियान चलिरहेकोबारे आफू जानकार रहेको उनले बताए। अहिले आफूविरुद्ध धेरै समाचार आउनेबारे पनि आफू जानकार रहेको उनले बताए। 'मान्छेले समाचार छाप्छन् तर प्रमाणित गर्नुपर्‍यो। उहाँहरूलाई ह्यारेसमेन्ट भएको भए भोलिपल्ट महिला सेलमा जानुपर्दैन?,' स्थापितले भने, 'म मेयरको पदमा भएको बेला त्यस्तो भएको भोलिपल्टै गएको भए के हुन्थ्यो? भोलिपल्ट जान सक्नुपर्थ्यो। नभए दुईमहिना वा ६ महिनापछि जानुपर्थ्यो। म मेयर भएर फेरि फर्किएँ त्यतिबेला पनि कुरा छैन।'

अन्य महिलालाई पनि यौन हिंसा गरेको र अहिले पनि एक पत्रकारलाई यौन हिंसा गरिरहेको भन्ने प्रजापतिको आरोपमा स्थापितको जवाफ थियो, 'प्रमाणित गर्नुपर्‍यो। आरोप लगाउनेले प्रमाण जुटाउनुपर्‍यो। सचेत मान्छे भएको भए यौन हिंसा गरेकै दिन जानुपर्दैन?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.