'सरकारले डिपिसी गर्‍यो अब गारो लगाउँछ'

|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ८ महिनामा सरकारले संविधानको सफल कार्यान्वयन गरेको बताएका छन्। गुल्मीको मुसिकोट नगरपालिकाले गुरुयोजना निर्माण गर्न आयोजना गरेको बौद्धिक सम्मेलन तथा वामी सेवा समिति जापानले प्रकाशन गरेको सन्देश भाग–३ पुस्तकको बिमोचन गर्दै मन्त्री ज्ञवालीले संविधानको कार्यान्वयन नै सरकारको डिपिसी भएको भन्दै अब गारो लगाउँदै जाने बताएका हुन्

उनले अबको तीन वर्षमा अतिअल्पविकशितबाट विकाशिल र १२ वर्षमा मुलुकलाई मध्यम आय भएको मुलुकको सूचीमा पुर्‍याउने बताए। साथै उनले त्यसको लागि सरकारले तीनवटै सरकारको व्यवस्थापन गर्दै अल्प, मध्ये र दीर्घकालीन योजना अगाडि बढाएको दाबी गरे।

मन्त्री ज्ञावलीले आवश्यकताका अधारमा संविधान संशोधन गरिनेसमेत बताए। ‘एकातिर दुई तिहाईको सरकार र अर्कोतिर जनताका तीव्र आशा र अपेक्षा छन्, त्यसलाई मर्न दिदैनौँ,’ उनले भने,‘ आवश्यक परे संविधान संशोधन गर्छौं।

मन्त्री ज्ञवालीले मुसिकोट नगरपालिकाले तयार गरेको ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार मुसिकोट समृद्धिको आधार’ भन्ने नारासँग हरेक नागरिकको सपना र भावना जोडिएकाले देशमा अरू स्थानीय तहले अनुसरण गर्न योग्य गुरुयोजना निर्माण गर्न सुझाव दिए।

भ्रष्टाचारी र अपराधी उम्कदैनन्

गुल्मी क्षेत्र नं १ का सांसदसमेत रहेका ज्ञवालीले सरकारको अबको मिसन भ्रष्टाचारी, अपराधी र काम नगर्ने ठेकेदारलाई तह लगाउने रहेको बताए। अहिले पनि देश राज्यको सम्पति दोहन गर्ने भ्रष्टाचारी, समाजमा बितण्डा मच्याउने अपराधीहरू र काम नगर्ने ठेकेदारहरूको चंगुलमा फसेकाले सरकार त्यसविरुद्धमा रहेको उनले जिकिर गरे। ‘सुगममा कार चढेर दुर्गमका बाटा र पुल नबनाउने ठेकेदार, हत्या हिंसा र बलात्कार गर्ने अपराधी र घुस माग्ने घुसखोरी खोजेर कारबाही गरेका छौँ,’ मन्त्री ज्ञवालीले भने, ‘अब पार्टीको कार्ड देखाएर उन्मुक्ति पाइँदैन्।’

सरकारविरुद्ध नकरात्मक मनोविज्ञान

मन्त्री ज्ञवालीले नेतादेखि कार्यकर्तासम्ममा सरकारप्रति नकरात्मक मनोभावना विकास भएको बताए। ‘नेताले पनि केही हुँदैन र गर्न सकिदैन की भन्ने, छिटो प्रतिफल खोज्ने कार्यकर्ता दुवैमा निराश र हिनताबोध छ,’ उनले भने, 'अब दरिलो आत्मविश्वासको खाँचो छ।’

उनले पहिले बाँदर लर्कने भीरमा अहिले गाडी कुद्नु, स्वीच दबाए बत्ती बल्नु, १० हजारको विकास माग्न सिंह दरबारको ढोका घचघच्यान नपर्नु नै परिर्वतन भएकाले हतास र आवेगमा आएर सरकारको गलत टिप्पणी नगर्न आग्रह गरे।

छोटो समयमा पनि केन्द्रीय सरकारले स्थानीय र प्रदेश सरकारको व्यवस्थापन, नमूना कानुन निर्माण, १६ वटा मौलिक हक पारित, थुप्रै देशसँग आपसी सम्बन्ध विस्तार र आर्थिक व्यापारीक सम्झौता गरेकाले विश्व समुदायको ध्यान नेपालप्रति बढ्दै गएको ज्ञवालीले बताए।

बौद्धिक सम्मेलन दुई दिन

मुसिकोट नगरपालिकाले आयोजना गरेको बौद्धिक सम्मेलनमा नवलपुर प्रतिनिधिसभा सदस्य तिलक महत, ५ नं प्रदेश विशेषाधिकार समिति संयोजक कमलराज श्रेष्ट, सांसद खडग केशी, दिनेश पन्थी तथा नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीको सचिव बिष्णु कुमारी सापकोटाले कार्यक्रममा संबोधन गरेका थिए। कार्यक्रममा नगरपालिका  प्रमुख सोमनाथ सापकोटा र प्रमुख प्रसासकीय अधिकृत घनश्याम न्यौपानेले नगरपालिकाको कार्यप्रगतिको बारेमा प्रकाश पारेका थिए। उक्त सम्मेलन दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.