|

रुकुम : रुकुम पश्चिम-बाफिकोट गाउँपालिका ६ मग्मामा दुई वटा कार्यक्रम एकै ठाउँमा सुरु गरिएपछि तनाव उत्पन्न भएको छ। प्रगतिशील युवा क्लव र लोकतान्त्रिक खेलकुद संघले एउटै समयमा खेलकुद प्रतियोगिता आयोजना गरेपछि समस्या भएको हो।

कात्तिक ३ गते उद्घाटन गरिएको लोकतान्त्रिक खेलकुद संघको कार्यक्रम प्रहरीले अघि बढ्न दिएको छैन। गाउँपालिकाको अनुरोधमा प्रहरीले संघले आयोजना गरेको कार्यक्रम रोकेको हो। गाउँपालिकासँग अनुमति, परामर्श र सल्लाह नै नगरी जवरजस्त ढंगले कार्यक्रम जुधाउने र निहु खोज्न थालेपछि खेल रोकिएको गाउँपालिकाअध्यक्ष धर्मबहादुर केसीले बताए।

गाउँ सरकारसँग कुनै पनि छलफल नै नगरी अनुमति नलिइ आयोजना गरिएको कार्यक्रम रोकिएको अध्यक्ष केसीले बताए। स्थानीय सरकार, प्रहरी कसैसँग समन्वय नै नगरी गरिएको कार्यक्रमले सरकारको नियम उल्लंघन गरेकाले कार्यक्रम रोक्न बाध्य भएको अध्यक्षको भनाई छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था उल्लंघन गरिएको दावी अध्यक्षको छ। 

प्रगतिशील युवा क्लवले गाउँपालिकाबाट अनुमति लिएरै खेलकुद तथा साँस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेकाे र लोकतान्त्रिक खेलकुद संघले विनाकुनै अनुमति खेल जुधाएपछि समस्या भएको गाउँपालिकाले जनाएको छ। प्रगतिशील युवा क्लवले खेलकुद तथा साँस्कृतिक कार्यक्रम गर्न अनुमति माग्दै असोज १८ गते गाउँपालिकामा निवेदन दिएको थियाे। सोही निवेदनका आधारमा असोज २१ गते बसेको कार्यपालिकाको बैठकले कात्तिक ४ देखि ७ गते सम्म कार्यक्रम सञ्चालनको अनुमति दिइएको अध्यक्ष केसीले बताए।

समाज सुधार युवा क्लवले कात्तिक ३ देखि ६ गतेसम्म खेलकुद कार्यक्रम गर्न अनुमति माग्दै असोज २५ गते निवेदन दिएकामा असोज २९ गतेको कार्यपालिकाको बैठकले कात्तिक १० देखि १३ गते सम्म कार्यक्रम गर्ने अनुमति प्रदान गरेको अध्यक्ष केसीले जानकारी दिए। पहिले निवेदन दिएको प्रगतिशील युवा क्लवलाई पहिल्यै कार्यक्रम गर्न मिति दिइसकिएकाले कार्यक्रम नजुधाउन भन्दै कात्तिक १० देखि १३ गतेको समयमा खेलकुद कार्यक्रम गर्न समाज सुधार युवा क्लवलाई अनुमति दिइएको उनको भनाई छ। 

कात्तिक ४ गतेको कार्यक्रमलाई असर पार्ने गरी समाज सुधार युवा क्लवमै आवद्ध भएकाहरूले विनाकुनै अनुमति लोकतान्त्रिक खेलकुद संघको नामबाट खेल खेलाउने प्रयास गरेपछि समस्या आएको गाउँ कार्यपालिकाले जनाएको छ। लोकतान्त्रिक खेलकुद संघ बाफिकोट गाउँपालिका संयोजक विनोद कुसारीले भने सरकारले पार्टीको भातृ संगठनको कार्यक्रममा हस्तक्षेप गरेको बताए। पार्टीको भातृ संगठन भएकाले कुनै पनि कार्यक्रम गर्न कसैको अनुमति नचाहिने दावी गरेका छन्।

समाज सुधार युवा क्ल्वले अनुमति लिएको सन्दर्भमा आफूलाई केही थाहा नभएको भन्दै उनले पार्टीको भातृ संगठनको कार्यक्रम विनाअनुमति नै चलाउँदै आएको बताए। उनले प्रहरीले हस्तक्षेप गरेर खेलकुद सामग्री लिएको बताए। जिल्ला प्रहरी प्रमुख नायव उपरीक्षक सुमित खड्काले एकै ठाउँमा दुई वटा खेलकुद कार्यक्रम जुधेपछि समस्या हुने भएकाले सहजीकरण मात्रै गरिरहेको बताए। दश मिनेटको दूरीमा एकअर्कालाई समस्या हुने गरी कार्यक्रम भएपछि अनुमति नलिएकालाई कार्यक्रम सञ्चालन नगर्न सल्लाह मात्रै प्रहरीले दिएको उनको भनाई छ।

खेलकुद सामग्री आयोजक समितिले नै सुरक्षित राखेको डिएसपी खड्काले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.