|

ललितपुर : पाटनको महत्वपूर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधिपूर्वक सम्पन्न भएको छ।

झाँकीसहित मनमानेश्वरी देवीलाई यथास्थानमा विराजमान गराई सोमबार विधिपूर्वक सबैभन्दा पुरानो जात्रा सम्पन्न गरिएको हो। मूल गुठीयार साम्राराज्य श्रेष्ठको नेतृत्वमा झाँकी तथा बाजा गाजासहित मनमानेश्वरी भवानीलाई नगर परिक्रमा गराई आगम घर पुर्‍याई विराजमान गराइएको थियो। योसँगै जात्रा विधिवत सम्पन्न भएको छ।

घटस्थापनादेखि विधिवत रूपमा सुरु भए पनि यो जात्राको मुख्य विधि पुलपातीका दिन गरिन्छ। पाटन दरबार स्क्वायरमा रहेको तलेजु भवानीको शक्तिको रूपमा लिइने खड्गलाई अष्टमीका दिन मध्यरातमा पूजा गरी नवमीका दिन महालक्ष्मी स्थान पुर्‍याइन्छ। विभिन्न प्रक्रिया पूरा गरी टीका पछिको त्रयोदशीका दिन जात्रा विधिवत सम्पन्न गरिन्छ।

लिच्छविकालीन राजा मानदेवको नाति वसन्तदेवबाट सुरु गरिएको यो जात्रा बजेट अभावका कारण २५ वर्षदेखि हुन सकेको थिएन। ललितपुर महानगरपालिका, गुठी संस्थान, ललितपुर उद्योग वाणिज्य संघलगायत क्षेत्रबाट सहयोग प्राप्त भएपछि २६औँ वर्षमा खड्ग जात्रा निकालिएको हो।

मंगल टोलसुधार समितिका अध्यक्ष किरणमान प्रधानले जात्रा गर्न पाउँदा टोलबासीमा हर्षोल्लास छाएको र दशैं आएको जस्तो महसुस भएको भन्दै खुसी व्यक्त गरेका छन्। एकपटक यो जात्रा गर्नका लागि ४० लाख बढी बजेट आवश्यक पर्ने बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.