|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको असहमति पत्रमा गम्भीर छलफल भएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आगामी दिनमा यस्ता गम्भीर त्रुटी नगर्ने, यी कुरालाई नदोहोर्‍याउने सहमति भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

वरिष्ठ नेता नेपालले आफू विदेश भएका बेलामा पार्टीको विधानविपरीत प्रदेश इन्चार्ज-सहइन्चार्ज र अध्यक्ष-सचिव मनोनयन गराउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाउँदै असहमितपत्र दर्ता गराएका थिए। सोमबार बसेको सचिवालय बैठकमा छलफलका लागि उक्त विषयले प्रवेश पाएको हो।

सचिवालय बैठकले यसअघि सचिवालयले गरेको प्रदेश नेतृत्व इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिव तोक्ने निर्णय सदर गरेको छ। तर नेता नेपालले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनु पर्ने प्रस्ताव राखेका थिए। तर आइतबार र सोमबार बसेको बैठकले प्रदेश कमिटीलाई नउल्ट्याइ सदर गर्ने निर्णय गरेको हो।

त्यसैगरी पार्टी प्रवक्ताबाट नेता श्रेष्ठले दिएको राजीनामा सचिवालयले अस्वीकार गरेको छ। अनशनरत डा गोविन्द केसीलाई भेटेको विषयलाई लिएर नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग चर्काचर्का भएपछि उनले राजीनामा दिएका थिए। राजीनामा दिएको तीन महिनापछि उनको राजीनामा अस्वीकृत भएको हो। यसका साथै बाँकी एजेन्डामा छलफल गर्न ७ गते दिउँसो ३ बजे अर्को सचिवालय बैठक बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.