|

डोटी : जोरायल गाउँपालिका १ घण्टेश्वरकी बसन्ती महता गत फागुनमा गैरा सामुदायिक स्वास्थ्य इकाइमा प्रसूती भइन्। सामान्य सुत्केरी भएर फर्किएकी महता घरमा बेहोस भइन्। थप उपचारका लागी उप-क्षेत्रीय अस्पताल डडेल्धुरा जानका लागी आर्थिक जोहो गर्न धेरै समय खर्च गर्नु परेन घण्टेश्वर स्वास्थ्य चौकीबाट आकस्मिक प्रसूती तथा नवशिशु सहायता कोषबाट चार हजार ऋण सापटी लिइन्। 

चैत्रमा गर्भवती हुन आएकी इन्द्रा डाँगीको पनि घण्टेश्वर स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि बाहिर जानका लागी सोही कोषबाट सापटी लिइन्। बसन्ती महताले भनिन् ‘म बेहास अवस्थामा थिएँ। आफन्त पनि अस्पताल लैजान्छन् कि ऋण खोज्छन् समस्या हुन्थ्यो। स्वास्थ्य संस्थामा कोष स्थापना भएका कारण त्यहाँबाट ऋण सापटी लिन सहज भयो।’ बसन्तीले थपिन् ‘ केही भयो भने यहाँ हाम्रो रकम छ भनेर सबै गर्भवती महिलालाई आसा र भरोरा हुन्छ।’

प्रसूती तथा शिशुलाई समस्या भएपछि दिने उक्त रकम दुई महिनासम्म ब्याज नलाग्ने घण्टेश्वर स्वास्थ्य चौकीमा कार्यरत एनएनएम निर्मला पन्तले बताइन्। पन्तले भनिन् ‘ आपतकालीन समस्या भएका महिलाबाट दुई महिनासम्म ब्याज लिन्नौै त्यसपछि ब्याज तिर्नु पर्ने हुन्छ। रकम सक्दो चाँडो फिर्ता होस धेरै भन्दा धेरैलाई राहत दिन सकियोस भन्ने ध्ययले दुई महिनापछि ब्याज लगाएको हो।’

स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच गर्न आउँदा चाँसो राख्ने गरेको स्वास्थ्यचौकी प्रमुख अमर सिंह चौधरीले बताए। आकस्मीक कोषले गर्भवतीलाई राहत पुगेको छ। जिल्लाका पाँच स्वास्थ्य चौकीमा स्थापना गरिएको आकस्मिक प्रसूती तथा नवशिशु सहायता कोष स्थापना भएपछि राहत पुगेको छ। 

युएमएन डोटी कलस्टरको आर्थिक सहयोगमा समान पहुँच बिकास केन्द्र सिड नेपालमाफर्त संचालन भएको मातृशिशु तथा बाल स्वास्थ्य परियोजना अन्तर्गत जिल्लाको शिखर नगरपालिकाको तिजाली, बनलेक र जोरायल गाउँपालिकाको लक्ष्मीनगर, घण्टेश्वर र स्वरस्वतीनगर स्वास्थ्य चौकीमा ७५ हजारदेखि दुई लाखसम्मका आकस्मिक प्रसूती तथा नवशिशु सहायता कोष स्थापना गरिएको कार्यक्रम संयोजक डिलबहादुर बिकले जानकारी दिए। संयोजक बिकले भने, ‘आमा तथा बच्चाको स्वास्थ्यप्रति परिवारको सहयोग कम रहने र कहिले काहिँ समान्य आर्थिक अभावका कारणले आमा तथा नवजात शिषुको स्वास्थ्य असर नहोस् भन्ने उद्देश्यका साथ कोषको स्थापना गरिएको हो।’

घण्टेश्वर स्वास्थ्यचौकी बाहेक अन्य स्वास्थ्य संस्थामा कोषको परिचालन नभएको भएपनी कोष तयारी अवस्थामा राखिएको तिजाली स्वास्थ्य चौकी इञ्चार्ज रबेन्द्र ऐरले बताए। इञ्चार्ज ऐरले भने, ‘अहिलेसम्म त्यस्तो समस्या नपरेका कारण कोष परिचालन भएन। तर यस कोषका बारेमा सबै गर्भवती महिलालाई जानकारी छ।उहाँहरूले बेला बखत त्यो रकम कहाँ छ के अवस्था  छ भनेर चाँसो राख्छन्।’

महिला स्वास्थ्यमा सुधार तथा बालमृत्यु दर शून्य बनाउने उद्देश्यका साथ कोषको स्थापना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.