|

बारा : बाराको पचरौता नगरपालिकाको बेनौली गाउँमा सोमबार दिउँसो दुई पक्षबीच झडप भएको छ। नगरपालिकाको बेल्दारी टोलका बासिन्दा र बेनौलीका स्थानीयबीच झडप भएको हो।

आफ्नो गाउँ टोलमा बन्न लागेको अस्पतालको काम नरोक्न दबाव दिन नगरपालिका प्रमुख ज्ञापनपत्र बुझाउन गएको समयमा उक्त झडप भएको हो। सीमावर्ती उक्त गाउँमा नभई नगरपालिकाको बीच सेन्टरमा पर्ने बेनौली गाउँमा अस्पताल निर्माण गरिनु पर्ने माग राखी आन्दोलनमा उत्रिएका बेनौलीवासीले ज्ञापनपत्र बुझाउन आउँदा बेलदारीका बासिन्दाले बाटो रोकेपछि दुवै पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरले बताए।

१३ राउण्ड अश्रु ग्यास प्रहार

स्थानीयबासी झडपमा उत्रिएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। बाँसको चिरपट बोकेर मारपिट गर्न थालेपछि उक्त झडपलाई नियन्त्रण गर्न अश्रु ग्यास प्रहार गरिएको प्रवक्ता राठौरले बताए। झडपमा पाँच/छ जना घाइते भएको स्थानीयवासीले बताएका छन्। 

भ्रष्टाचारविरुद्ध आन्दोलन 

नगरपालिकामा भ्रष्टाचार मौलाएको भन्दै पचरौता संघर्ष समिति नै गठन भएको छ। नगरपालिकामा उपभोक्ता समितिसँग मिलेर नगरप्रमुखले भ्रष्टाचार गरेको भन्दै पचरौता संघर्ष समितिले गत असोज २२ गते ज्ञापन पत्र बुझाएको थियो। नेकपाका नेता जलन्दर सिंहको नेतृत्वमा संघर्ष समिति गठन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.