प्रदेश कमिटीमा जिम्मेवारी तोकिएको विषय स्थायी कमिटीको एजेन्डा बन्ने

|

काठमाडौं  : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले 'नोट अफ डिसेन्ट' लेखेका छन्। तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर गठन भएको नेकपामा पहिलोपटक औपचारिक रूपमा पार्टीको नेतृत्व तहमै 'नोट अफ डिसेन्ट' आएको हो। 

नेता नेपाल र प्रवक्ता श्रेष्ठले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा असोज ५ गतेको सचिवालय बैठकले गरेको निर्णयमा असमहति जनाउँदै 'नोट अफ डिसेन्ट' लेखेका हुन्।

नेकपाको असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीको नेतृत्व चयन गरेको थियो। उक्त बैठकका क्रममा नेता नेपाल र प्रवक्ता श्रेष्ठ विदेश भ्रमणमा थिए। दुवै नेताले सचिवालयको निर्णय अनुसार विदेश भ्रमणमा गएको र आफूहरू विदेश भ्रमणमा रहेको बेला कुनै पनि औपचारिक निर्णय नलिने सहमति भएको दाबी गर्दै आएका थिए। तर, असोज ५ गतेको सचिवालय बैठकले प्रदेश संगठन कमिटीका चार पद इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवमा नेताहरूलाई जिम्मेवारी दिउको थियो। 

नेता नेपाल र प्रवक्ता श्रेष्ठले उक्त निर्णयमा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेको एक सचिवालय सदस्यले थाहा खबरलाई जानकारी दिए। ती नेताका अनुसार उक्त विषयलाई कात्तिक १२ र १३ गते बस्ने स्थायी समिति बैठकको एजेन्डा बनाउन पनि दुवै नेता सहमत भएका छन्।

सचिवालयको बैठकमा असोज ५ गते आफूहरूबाट कमजोरी भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेका थिए। दुवै अध्यक्षले अब यस्ता कमजोरी नगर्ने र पार्टीलाई विधि र पद्दतीअनुसार नै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए। दुवै अध्यक्षले कमजोरी भएको प्रतिवद्धता जनाएपछि असोज ५ गतेको निर्णय भने सदर भएको छ। अब उक्त निर्णयमा स्थायी समिति बैठकमा छलफल हुनेछ। 

प्रदेश कमिटीमा जिम्मेवारी दिने क्रममा पार्टीले तय गरेको विधिलाई उलंघन गरेको नेता नेपाल र प्रवक्ता श्रेष्ठको आरोप थियो। पार्टी एकताका क्रममा जनप्रतिनिधिलाई कुनै पनि तहमा पार्टीमा जिम्मेवारी नदिने विधि अवलम्बन गर्ने तय भएको थियो त्यसको विपरीत जिम्मेवारी बाडफाँड भएकोमा नेता नेपालको असन्तुष्टी थियो। नेता नेपालले त्यसपछि पार्टीमा विधिको अन्त्य भएको भन्दै चियापानको आयोजना गरेर स्थायी समिति सदस्यहरूसँग छलफल गरेका थिए। त्यसपछि पार्टीमा विवाद बढेको थियो। 

सम्बन्धित समाचार पढ्नुहोस् :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.