|

काठमाडौं : नेपाली सेनाले करिब पाँच हजार थान अमेरिकी राइफल एम–१६ हतियार भित्र्याउने भएको छ। सेनाले यस वर्षका लागि झण्डै एक अर्ब रुपैयाँको अमेरिकी खजाना खरिद गर्न लागेको हो।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिने नेपाली सेनाका लागि यस्तो राइफल खरिद गर्न लागेको सेनाले जनाएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व शान्तिमा खटिने सेनालाई आवश्यक पर्ने सामाग्रीको विधिसम्मत खरिदमा सरकारले सेनालाई सहयोग गर्ने बताएका थिए। खरिद प्रक्रिया भने उनी रक्षामन्त्री हुनुअगावै अघि बढेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

‘हतियार खरिदको विषय जीटूजी नै हुने गरी प्रक्रिया अघि बढेको होला,’ सैन्य प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘पछिल्लो जानकारी बुझ्नै पर्छ। हतियार खरिद हुने विषय सरकार–सरकारबीच नै सम्झौता हुने गरेको छ।’

शान्ति सेनामा जानेका लागि आवश्यक परेकाले हतियार जतिसक्दो छिटो नेपाल आइपुग्नुपर्ने माग सेनाको छ। विश्व शान्तिमा खटिने पाचौं ठूलो संख्यामा नेपाली सेना पर्छ। अहिले विश्वका विभिन्न मुलुकमा ५ हजार ४३ नेपाली सेना शान्तिका लागि राष्ट्रसंघीय छातामा कार्यरत छन्।

अमेरिकी डलरको भाउ बढेको कारण हतियारको मूल्यभार बढ्न सक्ने सैनिक स्रोत जनायो। पूरै रकम आरम्भमा तिर्न सकेको भए मूल्य बढे पनि समस्या हुने थिएन। तर अब खरिद रकमको भार बढेको छ। डलरमा सम्झौता हुने हुनाले त्यसको मूल्य बढ्नेबित्तिकै भार बढ्ने निश्चित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.