|

दमक (झापा) : पूर्वी नेपालका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य हरेक वर्षको दशैंमा मुख्य आकर्षण बन्ने गरेको छ। झापा र मोरङका विभिन्न ठाउँमा लाग्ने मेलाहरुमा संस्थाल समुदायले सामुहिक नृत्य देखाउँदै आएका छन्। झापाको गरामनी, कमल गाउँपालिकाका पाडाजुँगी, मंगलबारे, गेउरिया, तोपगाँछीका विभिन्न ठाउँ, गौरादह, गौरीगञ्जका विभिन्न स्थानमा लाग्ने मेलाहरुमा सन्थाल जातिको नृत्य मुख्य आकर्षण बन्ने गरेका छन्। 

यस वर्षको दशैंमा पनि विभिन्न ठाउँमा लागेका मेलामा सन्थाल नृत्य प्रस्तुत भएका थिए। कमल गाँउपालिका–५ स्थित मंगलबारे बजारमा आयोजना गरिएको सन्थाल नृत्यमा शिवसताक्षी सन्थाल समूह प्रथम भएको छ। बडादशैंको अवसरमा एकादशीका दिन शनिबार भएको प्रतियोगितात्मक नृत्यमा प्रथम भएसँगै विजेता समूहले छ हजार ५०० सहित प्रमाणपत्र हात पा¥यो।

यसैगरी प्रतियोगितामा नेपाल सन्थाल माराङबुरू युवा क्लब सराङपाडा दोस्रो,  पुराइनिवाहा युवा क्लब, समयगढ तेस्रो भएको मेला आयोजक सगुन युवा क्लबका अध्यक्ष देवेन्द्रराज आङदेम्बेले बताए। उनीहरुले क्रमशः नगद पाँच हजार ५०० र चार हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा सहभागी तीन वटा सन्थाल समूहलाई चार चार हजार रुपैयाँ प्रदान गरिएको थियो।

निरन्तरता दिनै कठिन

सन्थाल जातिको नृत्यको आकर्षण मेला महोत्सवमा भए पनि उनीहरुलाई नृत्यलाई निरन्तरता दिन चुनौती बन्दै गएको छ। सांस्कृतिक कार्यक्रमहरुमा मात्र नभई विभिन्न संघ संस्थाका कार्यक्रम र राजनीतिक सभा सम्मेलनमा समेत झाँकी प्रस्तुतिका लागि निम्त्याइने उनीहरुलाई बाजा र पोशाक जुटाउनै हम्मेहम्मे पर्दै गएको छ।

कमल गाउँपालिका६ का लखिराम मुमुै भन्छन्, ‘सबैले हाम्रो संस्कृति र नाच त मन पराउँछन्, बोलाउँछन् पनि तर यसलाई टिकाउनै मुस्किल पर्न थालेको छ।’ धेरै जसो युवाहरु रोजगारीका लागि भारत तथा अन्य मुलुक जाने गरेकाले नृत्य टोली जुटाउन पनि कठिन हुँदै गएको उनले बताए।
 
अधिकांश सन्थाल वस्तीमा अहिले यो संस्कृतिलाई निरन्तरता दिनै कठिन हुँदै गएको छ। ‘नाचेर जीवन चल्दैन, अरु पेशा नगरी हुँदैन,’ गौरादह–१ का आइतराज मुर्मु भन्छन् ‘केही मेला बजारमा बोलाउँछन्, अलि अलि पैसा पनि दिन्छन् तर त्यसले त जीवन चल्दैन। अरु पेशा नगरी हुँदैन। अरु पेशा गर्दा नाचगानलाई समय नै हुँदैन।’

समुदायको चासो

सन्थाल समुदायमा रहेको विपन्नताका कारण संस्कृति संकटमा पर्दै गएपछि समाजका अगुवाहरुले संरक्षणमा चासो दिँदै आएका छन्। ‘अरु त धेरै गर्न सकिँदैन, कम्तीमा वर्षमा एक दिन नृत्य टोली भेला गराएर प्रतियोगिता गर्दै आएका छौं,’ कमल गाउँपालिका–५ को सगुन युवा क्लबका अध्यक्ष देवेन्द्रराज आङ्देम्बे भन्छन्–, ‘सबै जातजातिको संस्कार, संस्कृति जोगाउन त राज्यले पनि ध्यान दिनु प¥यो नि, हाम्रो मात्र प्रयास पर्याप्त छैन।’

यस्तै, हरेक वर्षको दशैंको नवमीका दिन सन्थाल नृत्य प्रतियोगिता गराउँदै आएको गेउरिया बजार व्यवस्थापन समितिले पनि सन्थाल संस्कृति लोप हुनबाट जोगाउन राज्य स्तरबाटनै चासो र संरक्षण हुनुपर्नेमा बताएको छ। ‘सन्थाल संस्कृति पनि हाम्रै हो, यसको संरक्षण गर्न नै वर्षमा एक दिन भए पनि जमघट गराएका हौं,’ समितिका रविन भण्डारी भन्छन्, ‘तर के गर्नु हाम्रो प्रयासले मात्रै पुग्दैन नि, सबै तहका सरकारले पनि यसतर्फ ध्यान दिन जरुरी छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.