|

धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्य भन्सार कैलाली भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयात बढिरहेको छ। आयातको तुलनामा निर्यात भने बढ्न सकेको छैन।  प्रत्येक वर्ष आयात बढ्न थालेपछि राजस्वमा भने वृद्धि भइरहेको छ।  

गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि कैलाली भन्सार कार्यालयबाट सबै भन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको तथ्यांक छ। कुल राजस्वको ४५ प्रतिशत पेट्रोलिम पदार्थबाट उठेको हो। त्यस्तै बिस्कुटले ७ प्रतिशत, पेपरले ३ देखि ४ प्रतिशत, दालमोठ, पापड, नमकिन, भुजियाले २ देखि ३ प्रतिशत स्थान ओगटेको  भन्सार कार्यालयले जनाएको छ। पछिल्लो समय चामल र गहुँ जस्ता खाद्यवस्तु पनि आयात बढेको कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत नारायण जोशीले बताए। 'आयात बढे पनि निर्यात बढेको छैन', उनले भने, 'निर्यातको अवस्था त दयनीय छ।’

कैलाली भन्सार हुदै कत्था, कच, टार्पेनटाइन मात्रै निर्यात हुने गरेको छ। गत आर्थिक वर्ष ०७४\७५ मा निर्यातबाट कैलाली भन्सार कार्यालयले सात लाख १८ हजार राजस्व संकलन गरेको थियो। यस आर्थिक वर्षको पहिलो तीन महिनामा तीन लाख ७८ हजार ३०० रुपैयाँ संकलन भएको छ।  भारततर्फ क्वारेन्टाइन चेकपोष्ट नरहेकाले वस्तु निर्यातमा बढोत्तरी हुन नसकेको भन्सार अधिकृत जोशीले बताए। ‘विगतमा जडिबुटी पनि निर्यात हुने गरेको थियो। भारततर्फ क्वारेन्टाइन चेकपोष्ट नहुँदा अहिले निर्यात बन्द छ’, उनले भने।

तीन महिनामा एक अर्बभन्दा बढी राजस्व

चालु आर्थिक वर्ष ०७५\७६ को पहिलो तीन महिनामा कैलाली भन्सार कार्यालयले एक अर्ब १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।  गत अर्थिक वर्षको पहिलो तीन महिनाभन्दा यो आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलनको अवस्था उकालो लागेको कैलाली भन्सार कार्यालय अधिकृत जोशीले बताए। 

गत आर्थिक वर्षको पहिलो तीन महिनामा ७५ करोड ५७ लाख ९० हजार राजस्व संकलन भएको थियो। यो आर्थिक वर्षको पहिलो ३ महिनामा एक अर्ब १४ करोड ४७ लाख ९२ हजार राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको तीन महिनाभन्दा यस आर्थिक वर्षको तीन महिनामा  ३८ करोड ९० लाख बढी राजस्व संकलन गरेको छ। ‘भन्सार चुहावट कम हुनथाले पनि राजस्व वृद्धि भएको हो’, अधिकृत जोशीले भने,‘विगतमा चोर बाटो भएर धेरै वस्तु भित्रिने गरेका थिए। अहिले हामीले त्यसमा कडाइ गरेका छौँ। पहिल्लो समय भन्सार हुँदै आउनेहरू बढेका छन्।’

गत आर्थिक वर्षको साउन महिनामा १९ करोड ४३ लाख ५१ हजार राजस्व संकलन भएकोमा यस आर्थिक वर्षको साउन महिनामा २९ करोड ३० लाख १३ हजार राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको भदौं महिनामा २१ करोड ९६ लाख २५ हजार राजस्व संकलन भएकोमा यस  आर्थिक वर्षको भदौमा ३८ करोड १५ लाख ५२ हजार राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको असोज महिनामा ३४ करोड १८ लाख १४ हजार राजस्व संकलन भएकोमा यस आर्थिक वर्षको असोज महिनामा ४७ करोड दुई लाख २७ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ।

यो आर्थिक वर्षको पहिलो तीन महिनामध्ये दुई महिनासम्म लक्ष्य भेट्न नसकेको भन्सार अधिकृत जोशीले बताए। ‘साउनमा ७७.९३ प्रतिशत र भदौ महिनामा ८८.७९ प्रतिशत राजस्व संकलन गरेका छौँ’ उनले भने ‘असोज महिना मात्रै लक्ष्य पूरा गर्यौँ।’ असोज महिनामा कैलाली भन्सार कार्यालयले १३०.२६ प्रतिशत राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको साउनमा ७१.५६ प्रतिशत, भदौमा ७०.७६ प्रतिशत र असोजमा १२५.८५ प्रतिशत राजश्य संकलन भएको थियो। 

बर्सेनि बढ्दैछ राजस्व

कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष ०७३\७४ मा दुई अर्ब सात करोडको लक्ष्य पाएको थियो। उक्त आर्थिक वर्षमा दुई अर्ब ९२ करोड रुपैयाँ  सङ्कलन भयो। गत आर्थिक वर्षमा तीन अर्ब ८७ करोड उठाउने लक्ष्य रहेकोमा चार अर्ब २० करोड रुपैयाँ सङ्कलन भएको थियो।

चालू आर्थिक वर्षका लागि पाँच अर्ब ३७ करोडको लक्ष्य निर्धारण गरिएको छ। भन्सार कार्यालयले तीन महिनामा २१ प्रतिशत राजस्व संकलन गरिसकेको दाबी गरेको छ। चोरी पैठारीमा नियन्त्रण गर्न सके लक्ष्यभन्दा बढी राजस्व संकलन हुने भन्सार कार्यालयले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.