|

संखुवासभा : रुद्राक्षको राजधानी भनेर चिनिने पहाडी जिल्ला भोजपुर र संखुवासभा जिल्लामा पछिल्लो समय रुद्राक्षमा लगाइएको दोहोरो करका कारण रुद्राक्ष खरिदबिक्रीमा कमी हुन थालेको छ। प्रदेश सरकारले जारी गरेको आर्थिक ऐन, २०७५ ले रुद्राक्षको जिल्ला निकासी करमा वृद्धि गरेसँगै परिचय पत्र लिने तथा अन्य व्यापारीहरू निराश भएका छन्। 

रुद्राक्षमा लगाइएको दोहोरो करका कारण पछिल्लो समय कारोबारी घट्न थालेको रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय सचिव राजकुमार दंगालको भनाइ छ। उनका अनुसार रुद्राक्ष प्रत्येकको मुख गन्दै राजस्व लिदाँ व्यापारको सुरक्षा चुनौती बढ्ने हुँदा व्यवसायीमा निराशा छाएको हो। 'प्रत्येकको मुखका आधारमा राजस्व लिने हो भने खरिदबिक्री परिचयपत्रको औचित्य हुँदैन', दंगालले भने। जिल्ला समन्वय समिति संखुवासभामार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र समेत पठाएको बताए।

यता जिल्ला समन्वय समिति सभापति सुमन शाक्यले  रुद्राक्षको  निकासी करका बारेमा पुनर्विचार गर्न ध्यानकर्षण गरेको बताए। रुद्राक्षको आर्थिक ऐनमा ४ र ५ मुखेबाहेकका सबै रुद्राक्षमा प्रतिगोटाका दरले निकासी करले लिने व्यवस्था रहेको छ जसअनुसार, रुद्राक्ष गौरीपाठ र त्रिपाठको प्रतिगोटा दुई हजार ५०० रुपैयाँ कर तोकिएको छ। जिल्ला निकासीबापत सबैभन्दा धेरै २६ र २७ मुखेको प्रतिगोटा ३५ हजार रुपैयाँ निकासी कर लिने प्रदेश सरकारको आर्थिक एनेमा उल्लेख गरिएको छ। त्यसैगरी २१ मुखेको प्रतिगोटा २५ हजार र २२ देखि २५ मुखेसम्म १९ हजार रुपैयाँ कर बुझाउनुपर्ने व्यवस्ठा गरेको छ।  

स्वरूप बिगार्ने क्रम अझै रोकिएन 

चिलादेखि नै रुद्राक्षमा 'क्लिप' लगाएर प्राकृतिक स्वरूप बिगार्ने क्रम अझै रोकिएको छैन। कानुन अस्पष्ट रहेकाले स्वरूप बिगार्नु अघि सरकारको अनुमति लिनुपर्ने हुन्छ। चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षलाई गोला, अण्डा र थेप्चो आकारमा उत्पादन हुने दानालाई आवश्यकता अनुसारमा बनाउने गरेका छन्। 

चिनियाँ व्यापारीले गत वर्ष रुद्राक्षलाई प्लास्टिक क्लिपको सहयताले अप्राकृति रुपमाा चेप्टाएका थिए तर अप्राकृतिक बनाएर बजारमा पुर्‍याएको भन्दै स्थानीय प्रशासनले रोक लगाएको थियो। तर त्यसलाई बेवास्ता गर्दे चिनियाँ व्यापारीले क्लिप नेपालीहरूलाई बिक्री गरिरहेका छन्। यो वर्ष कृषक तथा स्थानीय व्यापारीहरूले नै क्लिप प्रयोग गरेको चैनपुर नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष धर्मराज चौहानले बताए। 

स्वरूप बिगार्नेगरी कृषकहरुले प्लास्टिक क्लिप राखेपछि व्यवसायी संघ र प्रहरीको टोलीले केही कृषको क्लिप हटाएको थियो। चैनपुर नगरपालिकाको लुहाकोटमा लगाइएका प्लास्टिक क्लिप नियन्त्रणमा लिइएको व्यवसायी संघका जिल्ला अध्यक्ष चक्र विसुन्केले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.