|

कैलाली : सुदूरपश्चिम प्रदेशको प्रमुख शहर धनगढीमा पछिल्लो समय निजी लगानीमा अत्याधुनिक सेवा सुविधासहितका अस्पताल खुल्ने क्रम बढ्दै गएको छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरमा अघिल्लो महीनादेखि १० करोड बढीको लगानीमा २५ श्ययाको सुविधायुक्त ‘माया मेट्रो’ अस्पताल सञ्चालनमा आएको छ। अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला,अत्याधुनिक डिजिटल भिडियो एक्स–रे तथा सिटीस्क्यान सेवा रहेको छ। त्यस्तै वातानुकूलीत क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा,चौबिसै घण्टा फार्मेसीलगायतको सेवा रहेको अस्पतालका अध्यक्ष धीरेन्द्र साउँदले जानकारी दिए।

निजी क्षेत्रकै लगानीमा गत असारदेखि धनगढी– ५ मा ‘निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा आएको छ। पाँच करोड बढीको लगानीमा सञ्चालनमा आएको उक्त अस्पतालले २५ श्ययाबाट सेवा शुरु गरेको र आगामी दिनमा अस्पताललाई ५० श्ययामा विस्तार गर्ने लक्ष्य रहेको अस्पतालका सञ्चालक तीर्थराज पन्तले जानकारी दिए। अस्पतालले निकट भविष्यमै किड्नी डाइलाइसिस मेशिन र सिटीस्क्यान सेवा विस्तारका लागि योजना अघि सारेको जनाएको छ। निसर्ग अस्पतालमा सघन उपचार कक्ष (आइसियु),नवजात शिशु उपचार कक्ष (एनआइसीयु),बाल सघन उपचार कक्ष (पिआइसीयु),कृत्रिम श्वास प्रस्वास प्रणाली (भेन्टिलेटर),अत्याधुनिक प्याथोलोजी र डिजिटल एक्सरे सेवा रहेको छ।

यसअघि धनगढीमा निजी क्षेत्रकै लगानीमा मिर्गौला रोगको विशेष उपचारका लागि ‘सिपी’ अस्पताल र आँखाको विशेष उपचारका लागि ‘धनगढी नेत्रालय’ (आँखा अस्पताल) सञ्चालनमा आइसकेका छन्। अस्पताल स्थापनासँगै गुणस्तरीय तथा थप उपचारका लागि अब यस क्षेत्रका सर्वसाधारणले काठमाडौं,भारतलगायत विभिन्न ठूला शहरमा गई चर्को मूल्यमा उपचार गर्नुपर्ने बाध्यता हट्ने भएको छ। साथै अस्पताल स्थापनाले यस क्षेत्रको विकासमा समेत टेवा पुग्ने भन्दै यहाँका स्थानीयवासीले खुशी व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.