|

सुर्खेत : सुर्खेत बजार आज बन्द भएको छ। दशैंका कारण बन्दमा रहेको कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भर्खर चहल-पहल सुरु भएको थियो तर मंगलबार अचानक व्यवसायीले नै बजार बन्द गरेका छन्।

नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले सुर्खेतमा कृषि तथा सांस्कृतिक पर्यटन मेलाको आयोजना गरेको छ। यही कार्तिक ९ गतेदेखि १२ गतेसम्म वीरेन्द्रनगरको खुल्ला मञ्चमा संचालन गर्ने तयारी गरिएको महोत्सवको विरोधमा व्यवसायीले बन्द गरेका हुन्। सुर्खेतका स्थानीय व्यवसायीसँग समन्वयमा नै नगरी महोत्सवको आयोजना गरिएको भन्दै बजार बन्द गरिएको हो। विषेश गरी फेन्सी व्यवसायीले बन्द गरेका छन्।

फेन्सी व्यवसायी अर्जुन पाण्डेले स्थानीय व्यवसायीसँग कुनै समन्वय नगरी महोत्सवको आयोजना गरेका कारण आफूहरूको असहमति रहेको बताए। ‘बिभिन्न समूहले महोत्सवको आयोजना गर्ने विकृति नै भयो’, व्यापारी पाण्डेले भने, ‘जसले गर्दा हामी स्थानीय व्यवसायीलाई घाटा भइरहेको छ।’ पटक पटक हुने मेला महोत्सवका कारण राज्यलाई कर तिरेर बसेका स्थानीय व्यवसायीलाई मर्का पर्ने गरेको उनको भनाई छ।

उद्योग बाणिज्य संघअन्तर्गत फेन्सी तयारी वस्तु समितिका सदस्य समेत रहेका पाण्डेले व्यापारको सिजनमा नै मेला महोत्सव लगाउने परिपाटीले आन्दोलनमा जान बाध्य पारेको बताए। ‘वीरेन्द्रनगर नगरपालिका र उद्योग बाणिज्य संघकाबीचमा छलफल भएपछि मात्र थप आन्दोलन गर्ने या के गर्ने भन्ने निर्णय हुने छ’ पाण्डेले भने। यता मेला आयोजक मूल समितिका संयोजक पञ्चसिंह रोकायले भने महोत्सवको विरोध गर्नुको कुनै औचित्य नभएको बताए।

‘हामीले स्थानीय व्यवासायीका लागि स्टल बुकिङमा २० प्रतिशत छुट दिएका छौं’ रोकायले भने, ‘हामीले सल्लाह र परामर्शबाट नै महोत्सव आयोजना गरेका छौं।’ ‘व्यवासायीले नै आयोजना गरेको मेला महोत्सवले अरुलाई घाटा नहुने तर अरुले लगाउँदा किन आपत्ति?’ रोकायले प्रश्न गरे। महोत्सवको सबै तयारी पूरा भइसकेकाले मेला निर्धारित समयमा नै सञ्चालन हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.