|

भक्तपुर : दशैं लगत्तै यहाँका किसानहरू धान भित्र्याउन व्यस्त भएका छन्। असारमा रोपेको धान खेतमा पहेंलपुर हुने गरी पाकेपछि किसानहरू दशैंको नखःत्या नगई विजयादशमीको भोलिपल्टदेखि नै धान भित्र्याउन व्यस्त भएका हुन्।

खस ब्राम्हण समुदायका साथै अन्य समुदायमा समेत बडादशैंमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म आफन्तको घर खोजी-खोजी टीका थाप्न जाने चलन छ। आफन्तजन र मान्यवर कहाँ पुगेर टीका लगाउन जाने परम्परा नभए पनि नेवार समुदायमा भने नखःत्या जाने परम्परा रहेको छ। तर नखःत्या जानलाई सम्बन्धित घर परिवारले बोलाएको समयमा जानुपर्ने परम्परा छ। सो अनुसार नेवार समुदाय आफ्नो फुर्सदमा आफन्तजनलाई नखःत्या बोलाउने गर्दछन्।

एकातिर नखःत्या जानलाई आफन्तको बोलावट नआएको र अर्कोतर्फ दशैं अघिदेखि मौसम बदली भएर आकाश धुम्म हुन थालेपछि असिना पानी पर्ने डरले किसानहरू बडादशैंको एकादशीका दिनदेखि नै धान भित्र्याउन लागि परेका हुन्। नेवार समुदायमा विजयादशमीको दिन नवदुर्गा भवानीको प्रसाद झिक्ने, घरपरिवारका सदस्य बसेर टीका लगाउने, प्रसाद खाने र ढुकु कोठामा गरेको पूजाको चालः वाय् (सलिँचामा राखेको जमरा, उखु र कुभिण्डो मुलढोका अगाडि राखेपछि परम्परा) गरिएपछि दशैं सकिन्छ। त्यसैले विशेष गरेर नेवार समुदाय दशैंमै वर्षभरिको मुख्य बाली धान भित्र्याउन व्यस्त भएका हुन्।

भक्तपुरको डेकोचास्थित वन्तीमा मंगलबार धान काट्न व्यस्त किसान पुण्यश्वरी त्वायनाबासुले भनिन्, ‘धान हाम्रो मुख्य बाली हो। पाकेको धान खेतमा राख्नु हुँदैन। त्यसैले एकादशीको दिनदेखि नै धान काट्न थालेका हौं।’ नेवार समुदायमा धान रोप्न होस् या धान काट्ने कार्यमा, जाँड, रक्सी र मासु नभई हुँदैन। दशैं लगत्तै दशैंको जाँड, रक्सी र मासु समेत बाँकी हुने भएकोले पनि नेवार समुदायका किसानहरू दशैंलगत्तै धान काट्न व्यस्त हुने गरेको त्वायनाबासुले बताइन्।

धान काट्न, मेसिन चलाउन कम्तीमा पनि ८/१० जना कामदारको आवश्यकता पर्ने र दशैंका कारण स्कुल, कलेज, कार्यालय र व्यवसाय बन्द भएको अवसरमा घर परिवार र दाजुभाइ बसेर पनि धान काट्न सकिने भएकोले पनि दशैं लगत्तै धान काट्न सुरु हुने गरेको मध्यपुर थिमि १ लोहकिल्थलीका किसान राजकुमार ह्याजुले बताए। ‘खेत पनि थोरै छ। ज्यामी राखौं ज्याला पनि महँगो छ। फेरि भनेको बेला ज्यामी पनि पाइँदैन। त्यसैले घरपरिवार बसेरै धान काटेका हौं,’ उनले भने।

खेतमा पहेंलपुर हुने गरी धान पाकेपछि यहाँका खस ब्राम्हण समुदायका किसानहरू समेत टीका टालोको समय मिलाएर धान भित्र्याउन लागि परेका छन्।उनीहरू बिहान बेलुकाको समय टीका लगाउन जाने र दिउँसो धान काट्न जाने गरेका छन्। टीकाका दिनमा नै ससुरालीमा समेत टीका लगाउन भ्याएका सुडालका किसान रामबहादुर खत्रीले भने, ‘खेतमा पाकेको धान भन्दा ठूलो दशैंको टीका हुन सक्दैन। मौसमको के भर छ र त्यसैले टीका लगाउन नगई धान काट्न थालेका हौं।’

यस वर्ष वर्षा राम्रो भएकाले जिल्लाको धान बाली पनि राम्रो भएको छ। यतिबेला पानी परे असिना आउन सक्ने भएकोले पनि किसानहरू टीकाको चटारो छाडेर धान काट्ने चटारोमा लागि परेको उनले बताए। जिल्लाको मुख्य नदीहरू मनोहरा, हनुमन्ते र खस्याङ खुसुङ आसपास सिंचाइको व्यवस्था भए पनि चाँगुनारायण नगरपालिकाको चित्तपोल, ताथली, सुडाल, बागेश्वरी, छालिङ, चाँगु, दुवाकोट, सूर्यविनायक नगरपालिकाको गुण्डु, सिपाडोल, नंखेल, बालकोट, सिरुटार, दधिकोटलगायतका स्थानमा आकासे पानी र परम्परागत राजकूलोको माध्यमबाट धान खेती गरिन्छ।

बढ्दो आवादी बस्तीका कारण भक्तपुरमा खेतीयोग्य जमिन घट्दै गए पनि जिल्लाको ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिन मध्ये ४ हजार ३४८ हेक्टरमा धान खेती गरिन्छ। भक्तपुरमा प्रतिहेक्टर ६.२ मेट्रिक टन धान उत्पादन हुने गरेको छ। जुन नेपालको औसत उत्पादन भन्दा झण्डै दोब्बर हो। भक्तपुरमा गतवर्ष २७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.