आगामी १० महिनामा गौतमबुद्ध एअरपोर्ट सञ्चालनमा ल्याउछौँ : मन्त्री अधिकारी

|

काठामाडौं : लुम्बिनी विकास कोषले एशियाली विकास बैंकको सहयोगमा पाँचवटा बिजुली यातायात सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पुल्चोकबाट सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयसम्म बिजुली बसमा यात्रा गरेर बिजुली बसको शुभारम्भ गरे।

इन्धनबाट चल्ने सवारी साधनका कारण हुने प्रदुषण न्यूनीकरण गर्ने उद्देश्यले नेपालमा पहिलोपटक बिजुली बस सञ्चालनमा ल्याइएको हो। साझा यातायातले लुम्बिनीलाई केन्द्र मानेर काठमाडौंमा उक्त बस सञ्चालन गर्नेछ।

चालकसहित २० सिट रहेका उक्त बसमा एसी तथा मोबाइल चार्जरलगायतका सुविधासम्पन्न सिटहरू रहेका छन्। अपांगमैत्री (ह्विलचियर राख्न मिल्ने) उक्त बस एकचोटी फूल चार्ज गरेपछि २०० देखि २५० किलोमिटर गुड्न सक्छ। विद्युतीय गाडी उत्पादन गर्दै आएको चिनियाँ कम्पनी विवाइडी कम्पनीले उक्त बस निर्माण गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी १० महिनाभित्र लुम्बिनीस्थित गौतमबुद्ध एअरपोर्ट सञ्चालनमा ल्याउने बताएका छन्। मंगलबार काठमाडौंमा लुम्बिनी विकास कोषले एशियाली विकास बैंकको सहयोग तथा साझा यातायातको सहकार्यमा सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले त्यस्तो बताए।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले गौतमबुद्ध एअरपोर्ट निर्माणको काम भइरहेको भन्दै आगामी ६ महिनामा रनवेको काम सम्पन्न गरिसक्ने र आगामी १० महिनामा सञ्चालनमा ल्याउने दाबी गरे। 'अबको १० महिनामा गौतमबुद्ध एअरपोर्ट सञ्चालन गर्छौं त्यो भन्दा ढिलो हुदैन। अहिले लुम्बिनी क्षेत्रलाई प्रदुषण मुक्त बनाउने उद्देश्यले एशियाली विकास बैंकको सहकार्यमा बिजुली बस सञ्चालनमा ल्याएका हौं' उनले भने।

साझा यातायातसँग सहकार्य गरेर लुम्बिनीलाई केन्द्र मानेर बिजुली बस सञ्चालन गर्न साझालाई अनुमति दिएको मन्त्री अधिकारीले बताए। नेपाललाई कसरी वातावरणमैत्री बनाउन सकिन्छ भनेर पहिलो कदमस्वरूप बिजुली बस सञ्चालनमा ल्याएको भन्दै अधिकारीले अन्य ठाउँमा पनि छिट्टै विद्धुतीय बस सञ्चालन गर्ने जिकिर गरे।

वातावरणीय प्रभाव न्यूनीकरण गर्न नेपाल सरकार सचेत भएको भन्दै मन्त्री अधिकारीले भने, 'हाम्रो देशमा इन्धनबाट चल्ने सवारी साधनबाट बढी प्रदूषण भइरहेको छ। विद्धुतीय गाडी र विजुली रिक्सा सञ्चालन गर्नेछौँ।' पर्यटकीय क्षेत्रमा पूर्णतः विद्धुतीय सवारीसाधन चलाउने गरी योजना अगाडि बढाएको भन्दै मन्त्री अधिकारीले अन्य महत्त्वपूर्ण शहरहरूमा पनि विद्धुतीय सवारी चलाउने बताए।  

अहिले मन्त्रालयले १०० गन्तव्य टार्गेट राखेर काम गरिरहेको भन्दै मन्त्री अधिकारीले १२० सम्पदा यसबीचमा निर्माण सम्पन्न गरेको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन गरिरहेको भन्दै उनले अब रनवे धाजा फाट्ने समस्याको अन्त्य हुनेगरी काम भइरहेको बताए।

विद्धुतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण

यसैबीच त्यस अवसरमा विद्धुतीय यातायात राष्ट्रिय कार्ययोजना लोकार्पण गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले उक्त कार्ययोजना लोकार्पण गरेका हुन्। यातायात क्षेत्रको सञ्जालको वृद्धिसँगै सवारी साधनका कारण बढेको प्रदूषण न्यूनीकरण गर्न सरकार गम्भीर रहेको मन्त्री बस्नेतले बताए।

ग्लोबल ग्रिन इन्स्टिच्युटको सहयोगमा विद्धुतीय यातायातको राष्ट्रिय कार्ययोजना निर्माण भएको मन्दै मन्त्री बस्नेतले सन् २०२० लाई आधार मानेर सन् २०२० सम्म २० प्रतिशत विधुतीय यातायातको प्रयोग बढाउने योजना रहेको बताए। भने, 'कार्ययोजना प्रभावकारी कार्यान्वयनका निम्ति थप नीति, योजना आवश्यक छ। समग्र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न थप कार्ययोजना आवश्यक छ।'

जलवायु परिवर्तनका असर विश्वव्यापी रूपमा मुख्य समस्या बन्दै गएको भन्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनको असरलाई प्रभावित हुने देशमध्येमा नेपाल अग्रपंक्तिमा रहेकाले त्यसको न्युनीकरणमा ध्यान दिनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.