|

सिन्धुली : मूल्य राम्रो पाइने लोभले कृषकले यस वर्ष पनि सिजनअघि नै सिन्धुलीको जुनार बजारमा बिक्रीका लागि ल्याएका छन्। यस वर्ष पनि कृषकले महंगो मूल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन्।

प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाअन्तर्गत ‘जुनार सुपरजोन’ परियोजना सञ्चालन भएको सिन्धुली र ‘जुनार जोन’ रामेछाप जिल्लाअन्तर्गतका कृषकले हरियोमै जुनार टिपेर बिक्री गर्ने गरेको जुनार विकास संघ सिन्धुलीका अध्यक्ष कर्णबहादुर आलेले गुनासो गरे।

‘सामान्यतय मंसिर दोस्रो साताबाट फल खान योग्य हुने जुनार चारवाडको मौका छोपी कृषकले आफूखसी बजारमा बिक्री गर्न ल्याउन थालेका छन्, चाडबाडमा मूल्य राम्रो पाइने भएकाले पनि कृषकले सिजनअघि नै बजारमा ल्याएका हुन्’ आलेले भने।

परियोजनाले लाखौँ रुपैयाँको आर्थिक तथा प्राविधिक र विभिन्न औजारहरू प्रदान गर्दै आएको छ। ‘जुनार सुपरजोन’ परियोजनामा समेत आबद्ध कृषकले काँचोमै जुनार टिपेर बजारमा बिक्री गर्न थालेकोले जुनारको जिल्ला भनेर परिचित सिन्धुली र रामेछापमा पहिचान र गुणस्तरमै प्रश्नचिन्ह उठाउने काम गरेको भन्दै आलेले आक्रोश पोखे।

‘पटकपटक कृषकलाई सिजन नै नभई जुनार बजारमा बिक्री गर्न नल्याउन भने पनि कृषकले मानेका छैनन्। उनीहरूलाई जुनार जोन र जुनार विकास संघले पनि सहयोग गर्दैन,’ उनले भने।

व्यापारीले बगैँचामै पुगेर राम्रो मूल्य दिएर कृषकलाई फकाउँदै बजारमा ल्याएर बिक्री गर्ने गर्दा जुनारको स्वाद र गुणस्तर भने नहुँने जुनार संघका निवर्तमान अध्यक्ष तीलक थापाको भनाई छ।

उक्त परियोजनाअन्तर्गत उत्पादित जुनारलाई गुणस्तरीय र रोग किरारहित उत्पादन गर्दै अन्तर्राष्ट्रिय बजारमा समेत खपत गराउने लक्ष्य लिएको भए पनि कृषकले लापरबाही गर्दै जुनार सिजनअघि नै बजारमा ल्याउँदा गुणस्तरमा समेत समस्या आउने जानकारहरू बताउँछन्।

सिन्धुलीको खनियाँखर्क, जलकन्या, बाशेश्वर, भुवनेश्वरी, तीनकन्यालगायतका ठाउँङ्गा जुनारको व्यवसायिक खेती गरिँदै आएको छ। तर, कृषकले असोजदेखि नै बिपी राजमार्गका विभिन्न सडक र जिल्ला सदरमुकाम तथा खुर्कोट, मन्थली, रामेछापलगायतका बजारहरूमा पुर्‍याएर बिक्री गर्ने गरेको बताइएको छ।

उता हरियो जुनार नै बजारमा ल्याएर बिक्री गर्न थालेको भन्दै जुनार जोन परियोजनाले त्यस्ता कृषकलाई परियोजनाले प्रदान गर्दै आएको कुनै पनि सुविधा नदिने चेतावनी दिएको छ। जुनारको गुणस्तरका लागि समेत सिजनसम्म पर्खनु पर्ने भन्दै सिजनअघि नै जुनार बिक्री गरेर बगैँचा रित्तो बनाउनेहरूलाई कुनै पनि सुविधा प्रदान नगर्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेको छ।

राम्रोसँग जुनारको फल नपाके पनि व्यापारीले राम्रो मूल्य दिएपछि आफूहरूले बाध्य भएर काँचो जुनार बिक्री गर्नु परेको कृषकको भनाई छ। चाडबाडका कारण जुनार फलको माग बढेका कारण आफूहरूले हरियो नै भए पनि जुनार बिक्री गरेको जुनार कृषक बाँशु श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.