|

डोल्पा : वर्षौदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली विस्तारै फेरिन थालेको छ। डोल्पा पूर्णरूपमा राष्ट्रिय सडकसञ्जालमा जोडिएपछि यातायातको असुविधा हट्न थालेको हो। डोल्पालाई सडकसञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट निर्माणकार्य थालनी गरिएको सडकको डोल्पा दुनैसम्मको कच्ची ट्रयाक खुलाई सकिएको छ।

दुनैसम्मको सडक खुलाइएसँगै यातायातका साधन भित्रिन थालेका छन्। कुल लम्बाइ ११७.७ किमी रहेको जाजरकोट–डोल्पा सडकखण्डको निर्माणकार्य पूरा भएसँगै डोल्पालीको जीवनशैलीमा परिवर्तन हुन थालेको त्रिपुरा सुन्दरी नगरपालिका १ का स्थानीय तुलबहादुर बोहोराले बताए।

‘त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा ५ खदाङसम्म गाडी गुड्छ, अब खदाङ–त्रिपुराकोट खण्डको चुँगाडसम्म गाडी सञ्चालनमा ल्याउने खबर पाएका छौँ,’ बोहोराले भने, ‘त्यसपछि यातायातको असुविधाले सास्ती भोगिरहेका डोल्पालीलाई दैनिक उपभोग्य सामाग्रीको ढुवानीदेखि जिल्लाबाहिर जान सहज हुनेछ।’

त्रिपुरा सुन्दरी नगरपालिकामापर्ने चुँ गाडसम्म सडक जोडिएसँगै धमाधम मोटरसाइकल भित्रन थालेका छन्। डोल्पासम्मको पूर्णरूपमा ट्रयाक खुलेको एक महिना नबित्दै दर्जनौँ मोटरसाइकल भित्रिसकेको चुँ गाडका स्थानीयले बताए। हिजो खच्चडका घण्टीले गुञ्जायमान हुने बाटोमा आज भोलि मोटरसाइकलमा हर्न बज्न थालेका छन्।

तीन–चार महिना पहिलासम्म मान्छे हिँड्न मुस्किल पर्ने साँघुरोबाटोलाई चौडा सडक बनाइएपछि धेरैजसो मानिस पर्यटकीय जिल्ला डोल्पा हेर्नेकै लागि मोटरसाइकल लिएर आउने गरेका हुन्। यहाँको त्रिपुरा सुन्दरी मन्दिर, शे–फोक्सुन्डो ताल, शे–गुम्बा, सुलिगाड झरना मुख्य पर्यटकीय गन्तव्य हुन्।

खच्चडमा निर्भर डोल्पालीहरुले मोटरसाइकल कुदेको देख्न पाँउदा खुशीले दङ्ग छन्। ‘विकासको मुख्य कडी भनेको सडक नै हो, डोल्पासम्म सडक जोडिएपछि हामी खुशी छौँ, कुनैबेला हप्तौ हिँडेर नेपालगञ्ज पुग्नुपर्ने बाध्यता टरेको छ, अब घरबाट हिँडेको दुई दिनमै गन्तव्यसम्म पुग्न सकिन्छ,’ त्रिपुराकोटका स्थानीय कालुप्रसाद हमालले भने।सडक जोडिएसँगै थाप्लोको भरमा बाँचेका डोल्पालीमा खुशीको सीमा नरहेको समेत हमालको भनाइ छ। यसअघि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्नका लागि रुकुमको चौरहजारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगरलगायतका बजारमा पुग्नुपर्ने बाध्यता थियो।

‘पहिला घोडा, खच्चड, याक लिएर सामान ढुवानी गर्न छिमेकी जिल्ला रुकुम जाजरकोट पुग्दा समय पैसा दुवै खर्च हुन्थ्यो, अहिले खदाङ्सम्म गाडी, ट्रयाक्टर आउँछन्, खच्चड लिएर तीन घण्टामै खदाङ् बजार पुगेर सामान हालेर घर फर्किन सकिन्छ,’ खच्चड व्यवसायी खम्बलाल कठायतले भने। ‘डोल्पासम्म बाटो खुलिसकेकाले अब खच्चडको भरपर्नुपर्ने बाध्यता छैन, सयौँ खच्चडले ल्याउने सामान एउटै ट्रयाक्टरले सजिलै भनेकै ठाउँमा पुर्‍याउन सक्छ। अब डोल्पालीका सुखका दिन आउन थालेका छन्।’

सडक पुगेर दैनिक उपभोग्य सामाग्रीको सहज आपूर्ति हुन थालेपछि व्यापारीको एकाधिकार पनि हट्न थालेको छ। ढुवानीेको असहजता देखाउँदै सामानमा चौगुणा मूल्य उठाउँदै आएका व्यापारीहरूले पनि सामानको मूल्य घटाएको त्रिपुराकोट बजार व्यवस्थापन समितिका अध्यक्ष पूर्णकेशर न्यौपानेले जानकारी दिए। सडक जोडिसकेकाले नुन, तेल, चामल लगायतका दैनिक उपभोग्य वस्तुको मूल्य घट्नुका साथै संरचनागत विकास गर्न समेत सघाउ पुग्ने न्यौपानेले बताए।

सडक जोडिएसँगै बजार नपाएर घरमै कुहिँदै आएको अर्ग्यानिक स्याउ,ओखर लगायतका फलफूलले समेत बजार पाउने र डोल्पालीको आयस्तरमा वृद्धि हुने अपेक्षा गरिएको छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट डोल्पा सडकलाई केन्द्र र कर्णाली प्रदेश सरकारले समेत राष्ट्रिय गौरवको आयोजनाको विकास गर्ने लक्ष्य लिएको छ। चीन नेपाल र भारत जोड्ने त्रिदेशीयको सडकको रूपमा विकास गर्ने दुवै तहको सरकारको लक्ष्य  छ। उपल्लो डोल्पामा पर्ने चीन र नेपालको सिमानामा पर्ने मोरिम्ला र क्याटो नाका खोलेर व्यापारिक सडकको रूपमा विकास गरिने सरकारको लक्ष्य छ। कहालीलाग्दा भिर छिचोलेर खनिएको जाजरकोट–डोल्पा सडकले डोल्पाको इतिहास रचेको डोल्पालीले बताए।

‘विशाल भिरपाखा छिचोल्न सम्भव थिएन्, थुप्रै भौगोलिक कठिनाईका र दुःख पीडाका बाबजुद पनि सडक जोडेरै छाड्यौँ,’ सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले भने, ‘कुनैबेला सुर्खेतका छिन्चुबाट डोल्पासम्म हिँड्दै पुग्ने र सल्यानको सल्लीबजारबाट खाद्यान आपुर्ति गर्ने डोल्पालीहरू सडक पुगेसँगै घरबाटै गाडी चढ्न पाउने सुविधा पाइएको छ।’

खच्चडले बोकेको खाद्यान्न भर पर्नुपर्ने बाध्यता छैन्, अब गाडी र ट्रयाक्टरद्वारा ढुवानी गरिएको खाद्यान्न उपभोगगर्ने बेला भइसकेको  पहाडीको भनाइ छ। ‘सेनाले डोल्पालीको सडक सपना साकार पारेको छ, अब खदाङ–त्रिपुराकोट खण्डको चुँ गाडसम्म गाडी सञ्चालनमा ल्याएर जाजरकोट–डोल्पा सडकखण्डको औपचारिक उद्घाटनको नजिक छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.