|

तनहुँ : तनहुँको भानु नगरपालिका–१ नयाँबस्ती गोठेरीका प्रायजसो गन्धर्व जातिले जीविकोपार्जनका लागि सारंगी बनाउने गरेका छन्। बस्तीका धेरैजसो घरपरिवारले सारंगीकै भरमा घर चलाउने गर्छन्।

गीता गान्दारी र रमेश गान्दारीलाई छोरीहरू पढाउन, घरमा आवश्यक सामग्रीहरू खरिद गर्न सारंगीकै भर पर्नु पर्ने बाध्य छ। गान्दारी दम्पत्तिले बिहान बेलुकी खेतबारीमा काम गरे पनि दिउँसो सारंगी बनाउने गर्दछन्।

भानु–१ नयाँबस्ती गोठेरीका गन्धर्व बस्तीका महिलाहरूलाई सारंगी बनाउन आउँदैन। केहीकेही महिलाहरूलाई ससाना सामग्री बनाउन मात्रै आउने बताउँछन्। तर गीता गान्दारीलाई भने राम्रोसँग सारंगी बनाउन सक्छिन्। महिलाहरू प्राय पुरुषले सारंगीको घर बनाउन मात्रै जानेका हुन्छन् तर गीतालाई सुरुदेखि अन्त्यसम्म राम्रो तरिकाले सारंगी बनाउन सक्ने बताउँछिन्।

उनले भनिन् ‘मैले बुवाले बनाएको देख्थेँ, बुबासँगै सम्पूर्ण काम गर्थे, त्यसैले सजिलै सारंगी बनाउन जानेँ र अहिले सारंगी बनाएर आम्दानी गरी घर चलाउन सजिलो भएको छ।’

बाबुकै प्रेरणाले गीतालाई परिवारको आवश्यकता पूरा गर्न सहज भएको छ। महिलाले गर्न हुँदैन भन्ने मान्यतालाई चिर्नु र पुर्ख्यौली पेशाको समेत संरक्षण भएको छ। सीपले उनी अन्य गन्धर्व महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बनेकी छन्।

गीताका बाबु श्यामबहादुर गन्धर्वले छोराहरूले सारंगी बनाउन सहजै जानेका हुन्छन्। प्राय छोरीले सारंगी बनाउने काम नगर्ने भए पनि गीताले बनाउन जानेको बताउँछन्। ‘छोराहरूले पनि अहिले पुर्ख्यौली पेशा अंगालेको बताउँदै यो पेशा जानेर छोरी ज्वाइँलाई नै आम्दानीका लागि अन्यत्र चाहर्न परेको छैन,’ उनले भने। घर र माईत नजिक भएकाले केही काम गर्न सघाउन माइत पुग्ने गरेको उनका बुवा श्यामबहादुरले बताए।

त्यस्तै रमेश गान्दारीले पनि उनकै बाबुसँग सारंगी बनाउन र बजाउन सिकेको बताउँछन्। पहिले बाहिर गएर काम गर्ने गरेको रमेशले बताए। ‘बाहिरको काम गर्नुभन्दा सारंगी बनाएर बढी आम्दानी हुने भएपछि गीताले मलाई बाहिर नजान भनिन् र म पनि अहिले पुख्यौली पेशामै लागेको छु,’ गान्दारीले भने।

ठूलो खालको सारंगी बनाउन एक दिन लाग्छ भने मझौला र साना प्रकारका एक दिनमै दुई/तीन वटासम्म बनाउन सकिने गान्दारी दम्पतिले बताउँछन्। सारंगी बनाउनका लागि काठ विशेष गरी बन्दीपुरबाट ल्याउन गरेको गीताले बताइन्।

पुर्ख्यौली पेशाको संरक्षण हुनुका साथै यसैको माध्यमबाट आम्दान भइरहेको उनीहरू बताउँछन्। गोठेरीका गन्धर्व बस्तीका केही युवाले सारंगी बनाउन जाने पनि बजाउन भने नजानेको बताउँछन्। केही भने जानेका अभिभावकसँग बनाउँदै बजाउन सिक्दै गरेको बताउँछन्।

सारंगी बनाउने कार्यमा लागेन भने घरपरिवार पाल्नै गाह्रो हुने बताउँछन्। उनीहरूले आवश्यकताहरू धेरै हुन्छन् तर पूरा गर्न नसक्नुका साथै छाक टार्नसमेत गाह्रो हुने बताउँछन्। सारंगी बनाएरै छोराछोरीको पठनपाठन, लालनपालन गर्ने गरेको उनीहरूको भनाई छ।

वार्षिक आम्दानी ६ लाखसम्म

वर्षमा सानो र ठूलो गरी २० देखि २५ वटासम्म सारंगी बिक्री गर्ने गर्दछन्। वर्षमा एक हजार ५०० पर्ने सानो खालको मात्रै २० वटा बिक्री गर्न सके वार्षिक तीन लाख ६० हजार आम्दानी गर्ने गर्दछन् भने दुई हजार ५०० पर्ने बिक्री गर्दा छ लाख आम्दानी गर्ने गर्दछन्। 

ठूलो सानो गरी बिक्री गर्दा करिव वार्षिक करिव ७ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको गीता गान्दारीले बताइन्। ‘ठूलो सारंगीलाई दुई हजार ५०० देखि तीन हजार रुपैयाँसम्म र  साना खालका सारंगीलाई एक हजार ५०० देखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुन्छन्। उत्पादन बढी गर्न सके अझै बढी आम्दानी गर्न सकिने हुन्छ' उनले भनिन्।

पर्यटकीय शहरहरूमा बिक्री

सारंगी विशेष गरी पर्यटकीय शहरहरूमा बिक्री हुँदै आएका छन्। कुनै समयमा सारंगीको माग बढी हुन्छ भने कुनै बेला शून्य नै हुने गरेको उनीहरू बताउँछन्। आन्तरिक पर्यटकले भन्दा बाह्य पर्यटकहरूले बढी रुचाउने गर्दछन्। पर्यटकीय नगरी पोखरा, काठमाडौंको ठमेल, चितवनलगायतका शहरहरूमा सारंगी बिक्री वितरणका लागि होलसेलमा पठाउने गरेको गीता गान्दारीले बताइन्।

केहीले सारंगी बजाएर जीवन गुजारा गरेका छन् भने केहीले यसको उत्पादन गरी निर्यात गर्ने गरेका छन्। ‘हामीले यहाँ बनेका सारंगी होलसेलमा चितवन पठाउने गर्दछौँ, त्यहाँ लगेर बाह्य पर्यटकलाई पाँच हजारदेखि १५ हजार रुपैयाँसम्ममा बिक्री गर्छन्,’ गीताले भनिन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.