|

सुर्खेत : जिल्लामा संचालन हुने कृषि तथा सांस्कृतिक पर्यटन महोत्सवको विरोधमा बन्द भएको वीरेन्द्रनगर बजार बुधबार बेलुकीबाट खुलेको छ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले आयोजना गरेको कृषि तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन व्यापार महोत्सवको आयोजक समिति तथा फेन्सी तयारी वस्तुगत समितिबीच छलफल पश्चात बजार खुल्ने भएको हो।

महोत्सवका कारण स्थानीय व्यापारी मारमा परेको भन्दै फेन्सी व्यवसायीहरू आफ्नो व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिएका थिए। वार्तामा स्थानीय व्यवसायीलाई महोत्सवका लागि बुधबार साँझसम्म स्टल बुक गर्नुपर्ने, स्थानीय व्यापारीले बुक गरेपछि खाली रहेका स्टल मात्र बाह्य व्यापारीलाई दिइनुपर्ने तथा स्थानीय व्यवसायीलाई स्टलमा ४० प्रतिशत छुटको व्यवस्था गर्ने सहमति भएपछि बजार खुलेको महोत्सव आयोजक समितिका प्रचारप्रसार संयोजक मिलन श्रेष्ठले जानकारी दिए।

कार्तिक ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने भनिए पनि महोत्सव १५ गतेसम्म मात्र सञ्चालन गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.