|

नवलपरासी : देशमै लगानीको वाातावरण तयार भएको भन्दै वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै मेहनत गर्नेहरुको संख्या बढ्दो छ। वैदेशक रोजगारबाट फर्किएका अधिकांश युवा कृषि तथा पशुपालमा आकर्षित भएका छन्।

पशुपालन गरी दुग्ध उत्पादनको क्षेत्रमा काम गर्दै आइरहेकाहरु भने अहिले निराश हुन थालेका छन्। लाखौँ खर्चेर गाई तथा भैँसीपालन गरेका किसानहरू आफूले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएपछि किसानहरू निराश बनेका हुन्। पश्चिम नवलपरासीमा कतिपय किसानले दैनिक १५० लिटर सम्म दूध उत्पादन गर्छन्।

स्वदेशमा रोजगारको अवसर नदेखेर वैदेशिक रोजगारमा गएका बर्दघाट नगरपालिका–१४ का कमल ढकाल विदेशमा पनि सोचेजस्तो कमाइ नभएपछि स्वदेशमै फर्किएर पशुपालन व्यवसाय सुरु गरेका छन्। उनले अहिले दैनिक रूपमा १०० लिटरसम्म दूध बिक्री गर्छन्। 

किसानले उत्पादन गरेको दूधले अहिले पनि राम्रो मूल्य नपाउँदा लागतसमेत उठ्न नसक्ने अवस्था रहेकोमा झनै नियमित रूपमा दूध उठाउदै आइरहेको डीडीसी र सीताराम गोकुल मिल्कले बजारमा दूधको माग कम भएको भन्दै दूध उठाउन नसक्ने बताएपछि ढकाललाई अहिले आफूले उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने अवस्था आएपछि चिन्तित भएका छन्। ‘फेरि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता छ’, उनी दुखेसो गर्छन्।

ढकाल मात्र होइन बर्दघाट नगरपालिका–१५ मा गाईफर्म सञ्चालन गरी दैनिक ८० देखि ९० लिटर दूध उत्पादन गर्दै आएका अर्का किसान मुक्ति तामाङलाई पनि आफूले उत्पादन गरेको दूध बिक्री नहुने भएपछि बारीमै पोख्नुपर्ने अवस्था आएकोमा चिन्ता छ। ‘राज्यले अनुदानको आश देखाएर किसानलाई प्रेरित गर्ने तर बजार ग्यारेन्टी नगर्दा विस्तारै पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको छ’, उनी भन्छन्। 

ढकाल र तामाङ मात्र होइन पश्चिम नवलपरासीमा व्यावसायिक फम सञ्चालन गरी दूध उत्पादन गर्ने किसानहरु दूध बिक्री नहुने अवस्था आएपछि चिन्तित बनेका हुन्। पश्चिम नवलपरासीमा उत्पादन भएको दूध विभिन्न सहकारीले संकलन गरी डीडीसी, सीताराम गोकुल, लुम्बिनी डेरी लगायतलाई बिक्री गर्दै आइरहेका छन्। 

दूध उत्पादनका क्षेत्रमा काम गर्दैआईरहेको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ चौपत्तामा रहेको चन्द्रोदय बहुउदेश्यीय सहकारी संस्थाले अहिले करिब दुई हजार किसानबाट दैनिक ६ हजार लिटर दूध संकलन गर्दै आएका छन्। किसानबाट संकलन गरेको दूध सहकारीले २५ सय लिटर स्थानीय बजारमा बेच्छ भने ३५ सय लिटर दूध डीडीसी र सीताराम गोकुल मिल्कलाई बिक्री गर्छ। अहिले डीडीसी र सीतारामले दूध उठाउन नसक्ने बताएपछि सहकारीले ‘मिल्क होलिडे’को अवस्थाको सिर्जना भएको बताएको छ।

चन्द्रोदय सहकारीले चौपत्ता, भुजहवा, पुसौली र मझौनीमा दूध संकलन केन्द्रसँगै चिस्यान केन्द्र समेत सञ्चालन गर्दै आइरहेको छ। अहिले चन्द्रोदय सहकारीकोे दैनिक ९ हजार ५०० लिटर दूध चिस्यान केन्द्रमा राख्नसक्ने क्षमता रहेको छ। डीडीसी र सीतारामले दूध नउठाए हालको उत्पादनलाई जेन तेन दुई दिनसम्म थेग्नसक्ने अवस्था रहेपनि त्यसपछि किसानहरुको दूध उठाउन सकिने अवस्था नरहेको सहकारीका व्यवस्थापक विष्णुप्रसाद पाण्डेले बताए। डीडीसीले पत्र काटेर दूध उठाउन नसक्ने बताएपछि किसानहरू मर्कामा पर्ने अवस्था आएको व्यवस्थापक पाण्डेको भनाइ छ। 

अहिले दूध कम उत्पादन हुने सिजनमा नै मिल्क होलिडे हुने अवस्था आएपछि पुस महिनासम्म उत्पादन बढेर चन्द्रोदय सहकारीमा मात्र दैनिक १० हजार लिटर भन्दा बढि दूध संकलन हुने अवस्थामा कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ।

सहकारीका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले पाइलट कार्यक्रम अन्तर्गत दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएर एकातर्फ प्रोत्साहन गर्न खोजेकोजस्तो देखाएको, अर्कोतर्फ ५० रुपैयाँको दूध पोख्नुपर्ने अवस्था सिर्जना भएकले राज्यले सही रूपमा व्यवस्थापन गर्न नसकेको बताए। 

पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेको भूमही दुग्ध उत्पादक सहकारी संस्थाले पनि त्यस क्षेत्रका किसानहरुबाट उत्पादन भएको दूध संकलन गरी लुम्बिनी डेरीलाई बिक्री गर्दै आइरहेको छ। लुम्बीनी डेरीले पनि बजारमा माग घटेको कारण दूध उठाउन गाह्रो भएको भनेपछि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा रहेको सहकारीका अध्यक्ष गणपति भट्टराईले बताए। 

सरकारले देशलाई दूधको क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सहकारी मार्फत पाइलट कार्यक्रम सञ्चालन गरी किसानलाई प्रोत्साहन गर्दै आइरहेको छ। अहिले पनि माग अनुसार पुग्नेगरी दूध उत्पादन हुन सकिरहेको छैन।  कतै मागअनुसारको आपूर्ति नहुने, कतै किसानले उत्पादन गरेको दूध सडकमै पोख्नुपर्ने अवस्था सिर्जना हुनु दु:खद किसानहरुको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.